नबिल बैंकको सामाजिक उद्यमशीलता विकास कार्यक्रम सुरु

काठमाडौँ – नबिल बैंकले नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सुरु गरेको छ। समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि उक्त कार्यक्रम सुरु गरिएको बैंकले जनाएको हो।

बैंकका अनुसार स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रमले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ।

सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका विभिन्न स्कुल तथा कलेज र विश्वबिद्यालयसँग सम्झौता गरेको छ।

बैंकका अनुसार प्रदेश १ मा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, प्रदेश २ मा वीरगञ्ज पब्लिक कलेज, बागमतीमा क्याम्पियन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालयको फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, लुम्बिनीको क्षितिज इन्टरनेशनल कलेज, कर्णालीको सुर्खेन मोडल कलेज र सुदूर पश्चिमको सुदुर पश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरिएको छ।

कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर सृजना गरिने बैंकले जनाएको छ।

त्यसैगरी फेलोशिप कार्यक्रम आवासीय तालिममा आधारित रहने बताइएको छ। जसमा काठमाडौँमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले गरेको छ। यसमा एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागीलाई संलग्न गराउने बैंकले जनाएको छ।

६ महिने सिकाइमा आधारित यस कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनोटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइनेछ। उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुवैमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन्। उक्त कार्यक्रमका दुवै कोर्स पूरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ।

उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, ऊर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्ने बैंकले जनाएको छ।

लघु वित्त, संस्था व्यवस्थापन, परियोजना सञ्चालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ। बैंकका अनुसार यो कार्यक्रम पूर्ण व्यवसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा सानाभन्दा साना सीप र रोजगारी गरी जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी बनाउन एक नयाँ सुरुवात हुने विश्वास लिएको छ।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्