एमाले महाधिवेशनः केन्द्रीय कमिटीको नामावली ताली बजाएर अनुमोदन गरिने, रावललाई बोल्नै नदिइने

फाइल फोटो।

काठमाडौँ–  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको केन्द्रीय कमिटीको अन्तिम नामावली आइतबार साँझ १० औँ महाधिवेशनको बन्दसत्रमा पेश गरी ताली बजाएर अनुमोदन गर्ने तयारी गरिएको छ।

अध्यक्षमा दाबेदारी पेश गरेका उपाध्यक्ष भीम रावललाई आफ्नो मत राख्ने मौका नदिएरै ओलीले पढेको नामावली अनुमोदनको तयारी गरिएको एक नेताले जानकारी दिए।

तयार पारिएको सूचीमा रावल र घनश्याम भुसाललाई पदाधिकारीमा नसमेटिएको बुझिएको छ।

बन्दसत्र साँझ ७ः०० बजे सुरु हुनेछ। बिहान १० बजेका लागि निर्धारित बन्दसत्र साँझ ७ः०० बजेका लागि सरेको हो।

पदाधिकारीसहित ३२० सदस्यीय केन्द्रिय कमिटीमा सहमतिका लागि  एमाले अध्यक्ष ओली दिनभरजसो नेताहरुसँगको छलफलमा व्यस्त रहे। पदाधिकारी छनौटको विषयमा सहमति जुट्न नसक्दा बन्दसत्र सुरु हुन ढिलाइ भएको हो।

शनिबारको बन्दसत्रबाट अध्यक्ष ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा दिइएको थियो। तर त्यसप्रति अध्यक्षमा दाबेदारी पेश गरेका नेता भीम रावल र उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका नेता घनश्याम भुसालले आपत्ति जनाएका थिए।

रावल र भुसालले सहमतिका नाममा निरंकुशता लाद्न खोजे स्वीकार्य नहुने बताउँदै आएका छन्।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्