नयाँ भेरियन्टका कारण सतर्कता अपनाउन दक्षिण-पूर्वी एसियामा डब्लुएचओको आग्रह

काठमाडौँ– विश्व स्वास्थ्य संगठनले ‘नयाँ भेरियन्ट अफ कन्सर्न’ ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।

आइतबार विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको हो।

विज्ञप्तिमार्फत डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले दक्षिण–पूर्वी एशियाका अधिकांश देशहरुमा कोभिड–१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला बताएकी छन्।

उनले भनेकी छन्, ‘यसले अझै पनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो शतप्रतिशत दिन जरुरी छ।’

डब्लुएचआले सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिन आग्रह गरेको छ।

सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउनसमेत सुझाव दिइएको छ।

त्यस्तै, जनस्वास्थ्यका मापदण्ड अपनाउन मास्क लगाउन, हात धुन तथा भीडभाड कम गर्न आग्रह गरिएको छ।

उनका अनुसार अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै हो।

आजको दिनसम्ममा यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

जसले गर्दा अझैपनि ठूलो संख्या संक्रमणको जोखिममै रहेको उनले बताएकी छन्।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्