विकलको स्मृतिमा स्थापित पुरस्कार बन्धु, समिर र निभासहित नौ जनालाई

काठमाडौँ – विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताको नाम घोषणा गरिएको छ।

रमेश विकल साहित्य प्रतिष्ठानको कार्यसमिति बैठकले वर्ष ०७८ का लागि पुरस्कार प्राप्तकर्ताको नाम आइतबार घोषणा गरेको हो। जसअनुसार विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चूडामणि बन्धुलाई प्रदान गरिने भएको छ। विकल समाजसेवा पुरस्कार डाक्टर रवीन्द्र समीर र विकल सिर्जना पुरस्कार विमल निभालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

त्यस्तै, विकल—सुशीला संघर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल बालसाहित्य पुरस्कार कार्तिकेय घिमिरे तथा विकल कलासंगीत पुरस्कार पूर्ण हेजुलाई प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिष्ठानले विकलका रचनामा आधारित ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने देवकी आचार्यलाई ‘चन्द्रशेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल) लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरिएको छ।

यसै वर्षबाट दिन थालिएको यस शोध सम्मानका लागि विकलका पुत्रद्वय विजय चालिसे र महेन्द्र चालिसेबाट प्राप्त जनही ५—५ लाख रुपैयाँ गरी १० लाखको अक्षयकोष खडा गरिएको प्रतिष्ठानले जनाएको छ।

घोषित पुरस्कार पुस ३ गते गोकर्णेश्वर—९ आरूबारीस्थित नवअरूणिमा विद्यालयको प्रांगणमा आयोजन गरिने कार्यक्रममा वितरण गरिनेछ। पुरस्कारका लागि नाम सिफारिस गर्न प्रतिष्ठानका सचिव वसन्त रिजालको संयोजकत्वमा प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम र डाक्टर विन्दु शर्मा सदस्य रहेको समिति गठन गरिएको थियो।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्