कांग्रेस उपसभापति निधिका भाइ क्षेत्रीय सभापतिमा सर्वसम्मत, श्रीमती पनि महाधिवेशन प्रतिनिधि

जनकपुरधाम – कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पार्टीका उपसभापति विमलेन्द्र निधिका भाइ सर्वसम्मतबाट चयन भएका छन्। आइतबार भएको क्षेत्रीय अधिवेशनमा धनुषा क्षेत्र नं. ३ को सभापतिमा धीरेन्द्र निधि सर्वसम्मत चयन भएका हुन्।

त्यस्तै, महाधिवेशन प्रतिनिधिमा उपसभापति विमलेन्द्र निधि, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, संघीय संसद् स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी, कन्हैया कर्ण, प्रफुल्ल घिमिरे, बजरंग साह, जीवनाथ चौधरी, किशोरी साह, सञ्जय गुप्ता, रामबाबु यादव, दिनेश चन्द्र दीपक, गणेश तिवारी, सुरेन्द्र चौधरी, दिगम्बर राय सर्वसम्मत चयन भएका छन्।

त्यस्तै, उपसभापति निधिका श्रीमती अनामिका निधि, मीनाक्षी झा, निलम कर्ण, सम्झना वर्मा, विजेता झा, प्रमिला दास, मो.सोएब महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

यता, उपसभापति निधिले आफ्नो भाइलाई क्षेत्रीय सभापति बनाएपछि कांग्रेसका कार्यकर्ता असन्तुष्ट बनेका छन्। क्षेत्र नम्बर ३ धनुषाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रवेश चौधरीले आजसम्म इतिहासमै नभएको काम उपसभापति निधिले गरेको आरोप लगाए।

उपसभापति निधिले आफ्नो मनोमानी हिसाबले मञ्चबाटै आफू अनुकूलका व्यक्तिको नाम घोषणा गरेको उनको भनाइ छ।

अर्का उम्मेदवार शम्भुनाथ झाले पार्टीभित्र राम्रो सम्भावना भएकाहरूलाई घाँटी रेटेर सिध्याउनु कांग्रेसी राजनीतिको संस्कार बनिसकेको आरोप लगाएका छन्।

 

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्