भित्र अध्यक्ष मण्डलको बैठक, बाहिर ओलीको पक्षमा नाराबाजी

सौराहा – एमालेको महाधिवेशन बन्दसत्र सुरु हुनुअघि आइतबार राति अध्यक्ष मण्डलको बैठक बसिरहेको छ।

बन्दसत्र हलसँगै जोडिएको होटलमा जारी अध्यक्ष मण्डलको बैठकमा केपी शर्मा ओलीले तयार पारेको भावी नेतृत्वको सूचीबारे छलफल भइरहेको छ।

ओलीले हिजोदेखि निरन्तर नेताहरुसँग परामर्श गरेर तयार पारेको सूचीलाई अन्तिम रुप दिन अध्यक्ष मण्डलको बैठक बसेको छ। बैठकमा भीम रावल पनि सहभागी छन्।

उक्त बैठकपछि बन्द सत्र सुरु हुने जनाइएको छ। नेताहरु बैठकमा बसेपछि बिहानैदेखि बन्दसत्रको औपचारिक बैठकको पर्खाइमा रहेका महाधिवेशन प्रतिनिधिहरु गीत गाउन र नाचगान गर्न व्यस्त छन्।

भित्र बैठक र नाचगान चलिरहँदा बैठक कक्ष बाहिर भने ओली पक्षमा कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन्।

‘आजलाई होइन, भोलिलाई केपी ओलीलाई १० वर्ष’, ‘केपी जिन्दावाद’, ‘युवाले के भन्छ केपी ओली ले भन्छ’ जस्ता नारा लागिरहेका छन्।

ओलीको पक्षमा देखिएका युवाहरुले अध्यक्षका प्रत्यासी भीम रावलविरुद्ध नारा लगाएका छन्।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्