बन्दसत्रमा मध्यरातपछि केपी ओलीले सुनाए ३०१ केन्द्रीय सदस्यको नाम

सौराहा- एमाले महाधिवेशनमा सहमति नजुटेका पदहरुमा चुनाव गर्ने भनी कार्यतालिका सार्वजनिक गरिए पनि बन्दसत्रमा आइतबार मध्यरातपछि अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना सदस्यहरुको नामावली पढेर सुनाएका छन्।

एमालेले शनिबार बिहान १९ जना पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यहरुको व्यवस्था गरेको थियो।

केपी ओलीले मध्यरातमा ३०१ जना सदस्यको नाम सुनाउँदै आफ्नो नाम भन्न चाहिँ भुलेको बताए। ‘ए सबैको नाम सुनाएँ, आफ्नो चाहिँ भन्न बिर्सेछु, म पनि केन्द्रीय समितिमा पर्छु होला,’ बिहानको १ बज्दा पनि केपी ओलीले ठट्टा गर्न बिर्सेनन्।

उता अध्यक्ष पदका अर्का दाबेदार भीम रावलले भने आफूले मनोनयन दर्ता गर्न फर्म लिइसकेको र निर्वाचन आयोगले समय तोकेपछि मनोनयन दर्ता गर्ने संवाददाताहरुसँग बताए।

ओलीले पेश गरेका मध्ये १०१ जना महिना छन्। नवौँ महाधिवेशनबाट चयन भएका केही केन्द्रीय सदस्यहरुको नाम प्रस्तावमा उल्लेख छैन। उनीहरुलाई सल्लाहाकारमा राख्ने तयारी ओलीले गरेका छन्।

अब पेश भएका व्यक्तिले मात्रै उम्मेद्वारी दिने र उनीहरुलाई सर्वसहमत निर्वाचित भएको घोषणा गर्ने तयारी निर्वाचन आयोगको छ।
केन्द्रीय सदस्यको नाम सर्वसहमतिका लागि पेश भए पनि पदाधिकारीको पेश भएको छैन।

नेताहरुका अनुसार पदाधिकारी सबैमा चुनाव हुने निश्चित जस्तै भएको छ।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्