ओमिक्रोन भेरियन्ट : यात्रा प्रतिबन्ध अन्याय भन्दै दक्षिण अफ्रिकाद्वारा विरोध

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै आफ्नो र आफ्ना छिमेकी देशमाथि विभिन्न देशले लगाएको यात्रा प्रतिबन्धको दक्षिण अफ्रिकाका राष्ट्रपतिले विरोध गरेका छन् ।

राष्ट्रपति सिरिल सामाफोसाले यात्रा प्रतिबन्धले आफूहरुलाई गम्भीर रुपमा निराश र विचलित बनाएको उल्लेख गरेका छन् । यात्रा प्रतिबन्ध अन्याय रहेको र तत्काल फुकुवा गर्न उनले माग गरेका छन् ।

अमेरिका, बेलायत, युरोपियन युनियनसहितले दक्षिण अफ्रिका र उसका केही छिमेकी देशबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रोनलाई गम्भीर चासो र चिन्ताको भेरियन्ट भनेको छ । नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरियन्ट त्यसको दुई हप्ता पहिलेदेखि नै फैलिन थालेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताको विश्वास छ ।

डब्लुएचओले यात्रा प्रतिबन्ध भन्दा पनि विज्ञानमा आधारित सावधानिका उपायहरु अपनाउन आग्रह गरेको छ । तर ओमिक्रोन भेरियन्टलाई लिएर चासो र चिन्ता बढ्दै जाँदा विभिन्न देशले पछिल्ला केही दिनमा प्रतिबन्धात्मक नियम भने लागु गरेका छन् ।

सोमबार सम्बोधन गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपति सामाफोसाले यात्रा प्रतिबन्ध लगाउनुमा कुनै वैज्ञानिक आधार नरहेको बताएका छन् ।

आफूहरु असमान विभेदको शिकार बनेको उनको भनाइ छ । यात्रा प्रतिबन्ध संक्रमण रोक्न प्रभावकारी नहुने पनि उनले दाबी गरेका छन् । आफूहरुको अर्थतन्त्रमा थप हानी हुनु पूर्व नै यात्रा प्रतिबन्ध फुकुवा गर्न उनले आग्रह गरेका छन् ।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्