कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (नोभेम्बर २१ देखि २७)

‘सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ’

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा हाल दक्षिण एसिया शान्त रहेको कुरा यसभन्दा अघिको अंकमा उल्लेख भइसकेको छ र यसरी शान्त हुने क्रम हाल पनि जारि छ।

दक्षिण एसियाको पछिल्लो दुई हप्ताको कोरोना प्यान्डेमिक सम्बन्धि विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रबृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक कोरोना संक्रमण गतहप्ता जस्तै अझै कम हुँदै गएको प्रबृत्ति देखिएको छ। त्यस्तै दैनिक मृत्युको प्रबृत्ति गतहप्ताभन्दा केही कम  हुँदै गएता पनि यस क्षेत्रको दैनिक मृत्युमा भने खासै कमी आउन सकेको छैन। करिब एक डेढ महिनाअघि यस क्षेत्रको दैनिक मृत्यु दर २% भन्दा कम भएकोमा तत्पस्चात यहाको मृत्यु दर २-४% हुँदै आएको छ। हाल दक्षिण एसियामा दैनिक करिब औसत १००००-१४००० नया  संक्रमण र ३००-४५० नया मृत्यु देखा पर्ने गरेको छ।

चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक नया कोरोना संक्रमणको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा  दक्षिण एसियाका सबै देशहरुमा दैनिक संक्रमणमा कमी हुँदै आएको छ भने श्रीलंकामा बेलाबेलामा दैनिक संक्रमणको नयानया छाल आउने गरेको छ।

त्यस्तै, चित्र न. ३ ले  दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशहरुमा दैनिक मृत्यु न्यून रही स्थिर प्रबृत्तिको देखिन्छ भने भारत र श्रीलंकामा दैनिक कोरोना मृत्यु केही बढ्न खोजेको छ। भारतमा बिगत एक डेढ महिनाको तुलनामा दैनिक संक्रमणमा निकै कमी आएता पनि दैनिक मृत्यु भने बेला बेलामा निकै बढेको देखिन्छ। त्यस्तै श्रीलंकामा पनि बिगत करिब २ महिनादेखि दैनिक कोरोना मृत्यु विस्तारै बढ्दै गएको छ। श्रीलंकामा दुई महिना अघि दैनिक मृत्यु २० भन्दा कम हुन्थ्यो भने हाल करिब ३० पुगेको छ।

चित्र न. ४ ले दक्षिण एसियाली र अन्य केही देशहरुको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्व विद्यालय (Johns Hopkins University) र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत  संक्रमण दरको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै गत हप्ता दुई हप्ताअघि जस्तै सबै देशहरुमा दैनिक संक्रमण दर केही तलमाथि बाहेक स्थिर देखिन्छ। श्रीलंकाको दैनिक संक्रमण दर हाल पनि अन्यत्रको दाँजोमा निकै उच्च देखिन्छ जुन करिब १३-१६% रहेको छ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता सन् २०२१ नोभेम्बर २१ देखि २७ (बि.सं २०७८ मंशिर ५ देखि ११) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्, जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्ध्यश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको  प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हो।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उताव चढाव हुने क्रम जारी रह्यो/ निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेराैँ ।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने  नया संक्रमितहरुको संख्या हो। सन् २०२१ नोभेम्बर २१ देखि २७ (बि.सं २०७८ मंशिर ५ देखि ११)  जम्मा ७ दिनको नेपालभरिको दैनिक परिक्षण, नया संक्रमण र मृत्युको संख्या चित्र न. ५मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परिक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, मंशिर ११ गते शनिबारसम्म, देशभरि जम्मा १९३७    जना नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या ८२०७२४ ८१८७८७ पुगेको छ। साप्ताहिक नया संक्रमण संख्या दुई हप्ताअघि २११२ थियो। त्यस्तै, साप्ताहिक मृत्यु गतहप्ता २६ रह्यो जुन दुई हप्ताअघि २४ थियो। गतहप्ता जम्मा ५३९२५  पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि ५३५५६ थियो।

गतहप्ता काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ५१.८८% जति देखिएको छ जुन दुई हप्ताअघि ४४.६१% थियो।

दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate) 

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न. ६ ले  नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दर देखाएको छ जुन बढ्दै गएको प्रबृत्ति देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम २.९६% देखि अधिकतम ४.०२% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ३.६२% रह्यो जुन दुई हप्ताअघि ४.१% थियो। नेपालमा पछिल्लो समय औसत साप्ताहिक संक्रमण दर कम हुँदै जाने प्रबृत्ति निरन्तर देखिएको छ जुन सुखद हो।

संक्षेपमा, गतहप्ता नेपालमा नयाँ कोरोना संक्रमण, मृत्यु र संक्रमण दर सबै घट्दै जाने क्रम जारी छ जुन गतहप्ता पनि जारी रह्यो। गतहप्ता PCR परिक्षण पनि प्रसस्त गरियो जुन दुई हप्ताअघिभन्दा बढी थियो। प्रसस्त PCR को बाबजुद साप्ताहिक संक्रमण संख्यामा खासै धेरै वृद्धि नहुनु राम्रो संकेत हो । तर सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण अनुपात केही बढेको छ जुन काठमाडौँबासीको लागि दुखद कुरा हो।

गतहप्ता दक्षिण एसियामा समग्ररुपमा दैनिक संक्रमण र मृत्युमा कमी आउँदै गएको प्रबृत्ति देखिएको छ। तर श्रीलंकामा हाल पनि दैनिक संक्रमण दर उच्च हुनु र भारत र श्रीलंकामा दैनिक कोरोना मृत्यु पछिल्लो समय केही बढ्ने क्रममा देखिनुले यस क्षेत्रमा कोरोना प्यान्डेमिकको जोखिम हाल पनि कायमै रहेको संकेत गर्दछ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल युरोपमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्दछ।

कोरोनाकालमा आफू बच्ने उपाय मात्रै गरे पनि त्यसले अरुलाई पनि बचाउन सकिन्छ। प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाशित जीवनशैली नै एक मात्र यस्तो हथियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्