नेकपा एमाले १०औँ महाधिवेशन

‘हामीले सबै पदमा उम्मेदवारी पर्ने सोचेका थिएनौँ, भोटिङ तोकिएको समयभन्दा पर जान सक्छ’

नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत चितवनको सौराहमा सोमबार मनोनयन दर्ता भइरहेको छ। एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। उपाध्यक्षमा घनश्याम भुसाल, युवराज ज्ञवाली, सचिवमा भीम आचार्यलगायतको उम्मेदवारी दर्ता भएको छ।

भावी नेतृत्वका लागि सर्वसम्मत नाम पेश गर्ने सर्वाधिकार पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले राति केन्द्रीय सदस्य र पदाधिकारीको नाम प्रस्ताव गरेका थिए। अहिले भने सौराहमा मनोनयनको काम भइरहेको छ। मनोनयन दर्ताको समय सकिएपछि निर्वाचनको अन्य प्रक्रिया अगाडि बढ्नेछ।

यसैबीच एमाले निर्वाचन आयोगका प्रमुख डा विजय सुब्बासँग निर्वाचन प्रक्रियाको बारेमा देश सञ्चारका प्रकाश ढकालले संक्षिप्त कुराकानी गरेका छन्।

निर्वाचनको कार्यक्रम कसरी अगाडि बढिरहेको छ ?

हिजो समयको कारण अलि अलमल भयो। अहिले बिहान ८ बजेदेखि दर्खास्त फारम वितरण र मनोनयन फारम वितरण भइरहेको छ। अब यो पनि सकिन लागेको छ। त्यसपछि हामी अर्को प्रक्रियामा जान्छौँ।

अध्यक्षले हिजो सर्वसम्मत नाम पेश गर्नुभएको छ, सँगै मनोनयनको पनि प्रक्रिया अगाडि बढिराखेको छ। सर्वसम्मतको नाम पनि पेश हुँदा र मनोनयनको प्रक्रिया चलिरहँदा पदाधिकारीहरुलाई अनि कन्फ्युजन भएन र ?

हिजो बन्दसत्रमा अध्यक्षले प्रस्तुत गर्नुभएको नामहरु राजनीतिक निर्णयहरु हुन्। त्यो अध्यक्षमण्डलले गरेको सर्वसम्मतको प्रयास हो। तर जुनसुकै उम्मेदवारहरु पनि निर्वाचन प्रक्रियामार्फत छिरेर अगाडि निस्कनुपर्छ।

त्यसैले अध्यक्षले पनि हिजो भन्नुभयो, ‘यी सर्वसम्मत भनी तोकिएका नामहरुले पनि निर्वाचन प्रक्रियामा छिर्नुपर्छ। मनोनयनको फारम भर्नुपर्छ।’ त्यसैले ती सबै नामहरु र इच्छुकहरुले यहाँ दर्खास्त फारम भर्नुपर्छ। वैधानिकताको लागि निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्छ। यो अनिवार्य हो।

विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिमा ३०१ जना सदस्य हुनुपर्नेछ। त्योभन्दा बढी हुने हो भने निर्वाचन हुने भयो हैन त ?

बढी भन्नाले यहाँ विभिन्न क्लस्टर छ, विभिन्न पदहरु छन्। जुन जुन पदमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी पर्छ ती ती पदहरुमा निर्वाचन हुन्छ। अहिले यसो हेर्दा प्राय: सबै पदमा आवश्यक संख्याभन्दा धेरै उम्मेदवार छन् कि जस्तो देखिन्छ। त्यो पछि मात्र थाहा हुन्छ।

अहिले जुन जुन पदमा उम्मेदवारीको संख्या धेरै परेको छ, त्यो सबै पदमा चुनाव हुन्छ। यसो हेर्दा सबै पदमा चुनाव हुने देखिएको छ।

मतदानको प्रक्रिया कसरी अगाडि बढ्छ ?

उम्मेदवारीहरुको छानविन गरिन्छ, अन्तिम नामावली प्रकाशन गरिन्छ। अन्तिम नामावली प्रकाशन गरिसकेपछि मतदानमा जान्छौँ। त्योभन्दा अगाडि दावी विरोध पनि हुन्छ। सबै काम सकेपछि मात्र भोटिङ मेशिनमा जान्छौँ।

आयोगले बेलुका ९ बजे समय तोकेको छ। हामीलाई कम उम्मेदवारी दर्ता हुन्छ भन्ने थियो तर अहिले प्राय: सबै पदमा उम्मेदवारी परेकोले त्यो भोटिङ मेशिनमा सबैको डाटा हाल्नुपर्दा १२, १४ घण्टा लाग्न सक्ने कुरा छ। उम्मेदवार धेरै भए भने ९ बजे नै सुरु नहुन सक्छ।

भनेपछि भोटिङ मेशिनमा भोट भोलि बिहानमात्रै हाल्ने होला ?

अब त्यो उम्मेदवारको अन्तिम नामावली हाम्रो हातमा आइसकेपछि मात्रै हामीले भन्न सक्छौँ। प्राविधिक टोलीले इलेक्ट्रोनिक भोटिङ मेशिनमा डाटा भर्न न्यूनतम १२ घण्टा चाहिन्छ भनेका छन्। वर तान्ने कुरा भएन सूची हेरेर अलि टाढा जान सक्छ।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्