नेकपा एमाले १०औँ महाधिवेशन

महासचिवमा शंकर पोखरेलको मात्रै उम्मेदवारी, निर्विरोध निर्वाचितको औपचारिक घोषणा बाँकी

सौराह – नेकपा एमालेको महासचिवमा शंकर पोखरेलको मात्रै उम्मेदवारी परेको छ। यससँगै उनी १०औँ महाधिवेशनबाट एमालेको महासचिवमा निर्विरोध निर्वाचित भएका छन्। तर औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।

एमालेको अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएका छन्। ओलीले घोषणा गरेका पदाधिकारीहरुको सूचीमा नभएका घनश्याम भुसालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन्।

सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार मध्याह्न १२ः०५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ। जसअनुसार १२ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ।

मतदान भने आज राति ९ बजेदेखि मंसिर १४ गते बिहान ३ बजेसम्मलाई निर्धारण गरिएको छ। मतदान सकिएलगत्तै मतगणना हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।

मंसिर १२ गतेसम्मलाई तोकिएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयनको नाउँमा समय घर्काइँदा थप दुई दिन लम्बिने देखिएको छ।

तस्बिरहरु : बर्षा शाह

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्