भारतको सहयोगमा दार्चुलामा दुई विद्यालय भवन निर्माण

काठमाडौँ – भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको खलंगास्थित तिंकरमा निर्मित मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ।

एक करोड २७ लाख रुपैयाँ सहयोगमा निर्भित उक्त भवनको भारतीय राजदूतावासकी नियोग उपप्रमुख श्रीमती नामग्य सी खम्पा, जिल्ला समन्वय समिति दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले संयुक्त उदघाटन गरेका छन्।

सन् १९६० मा स्थापना भएको उक्त विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दार्चुलाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन्। हाल विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा रहेका छन्। नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाइ वातावरणलाई सुधार गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा टेवा पुग्ने भारतीय राजदूतावासले विश्वास व्यक्त गरेको छ।

सोही दिन भारत–नेपाल विकास सहकार्यअन्तर्गत भारतको २ करोड ३३ लाख रुपैयाँ आर्थिक सहयोगमा दार्चुलाको महाकाली–७ धापस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ भवनको पनि उद्घाटन गरिएको छ।

भारतीय राजदूतावासकी नियोग उपप्रमुख श्रीमती खम्पा, महाकाली नगरपालिका, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले उक्त भवनको संयुक्त उद्घाटन गरेका हुन्।

सन् १९६६ मा स्थापना भएको विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो। भारत–नेपाल विकास सहकार्यअन्तर्गत दुईतले नवनिर्माण भएको छ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको दूतावासले जनाएको छ। दूतावासका अनुसार हालसम्म४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ। जसमध्ये दार्चुलाका ६ गरी सुदूर पश्चिम प्रदेशमा ३२ वटा रहेका छन्। भारतीय राजदूतावासले दार्चुला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई पाँचवटा एम्बुलेन्स र एउटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्