ओलीको सर्वसम्मत सूचीमा नपरेका टंक कार्की भन्छन् – कार्यकर्ता रोबाेटिक इलिमेन्ट हैन

सौराह – एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा नसमेटेका नेता टंक कार्कीले एमालेको सचिवमा उम्मेदवारी दर्ता गराएका छन्। महाधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार दिँदा ओलीले घोषणा गरेको पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सर्वसम्मत हुन सकेको थिएन। त्यसैले उनले घोषणा गरेका पदाधिकारीहरुले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएको थियो।

ओलीले सार्वजनिक गरेको सूचीमा नपरेका कार्कीले सचिवमा उम्मेदवारी दर्ता गराएका हुन्। चीनका लागि पूर्वराजदूत कार्की अन्तिम समयमा माधव नेपाललाई छोडेर केपी शर्मा ओली पक्षमा आएका थिए। महाधिवेशनस्थलमा उनले चुनावमा उठ्नुको कारणबारे पत्रकारसँग कुराकानी गरेका छन्।

१० औँ राष्ट्रिय महाधिवेशनमा सभाहलमा नाम घोषणा हुँदा तपाईंको नाम आएन। तपाईंले सचिव पदमा उम्मेदवारी दिनुभएको छ। असन्तुष्टि हो कि अरु केही ?

मैले अहिलेमात्र सचिवमा उम्मेदवारी दिएको हैन नि! योभन्दा अगाडि पनि मेरो चाहना अभिव्यक्त गरेको थिएँ। त्यो पनि मेरो पदको आशक्ति होइन, मेरो क्षमताको आधारमा मेरो निम्ति के हुन सक्छ, आफैप्रति इमान्दार भएर उम्मेदवारी दिएको हुँ। जुन मलाई अस्वाभाविक हो जस्तो लाग्दैन।

अध्यक्षज्यूले आएर फिर्ता लिनुस् भन्नुभयो भने यो अडान कायम रहन्छ कि फिर्ता लिनुहुन्छ?

कायम रहन्छ। म प्रतिस्पर्धाको राजनीतिक प्रक्रियाको पक्षमा छु। यसले मात्र हाम्रो राजनीतिक नेतृत्वको गुणस्तरलाई बढाउँछ भन्ने पक्षमा छु। हाम्रै अनुभव पनि सर्वसम्मतले पार्टीको एकता कायम राख्छ भन्ने छैन।

नवौँ महाधिवेशनमा भर्टिकल्ली २ वटा प्यानल भएर चुनाव लड्दा उदाहरणीय नेतृत्व चुनेको थियो।

एउटा भास्य के भने प्रतिस्पर्धा भयो भने विभाजित हुन्छ भन्ने सन्त्रासले काम गरिरहेको छ।

अहिले सर्वसम्मतका लागि किन जोड भयो त?

एउटा पाटो त नेपालको राजनीतिक सन्दर्भ पनि छ, नेकपा एमालेमाथि इतरका शक्तिको प्रहार छ। त्यसको बाबजुद पनि यो पार्टीको एकता, अखण्डता र यसको शक्ति नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कायम राख्नको निम्ति बलिया पार्टी भए भनेमात्र राम्रो हुन्छ।

अहिलेको नेपालको चुनौती भनेको प्रणाली र संविधानमाथि प्रहार हो । प्रणाली र संविधानलाई प्रहार गर्ने शक्तिलाई निरस्त्र गर्न सबल नेकपा एमाले चाहिन्छ।

हिजोको बन्दसत्रमा नाम घोषणा हुनुअगाडि अध्यक्ष र अरु नेताहरुसँग केही छलफल भएको थिएन?

म सामान्यतया पावर सेन्टरमा जान्न। कहीं बोलाए भने जाने हो, नत्र जान्न।

महाधिवेशनबाट अध्यक्षले आफ्नो झुण्डको व्यक्तिलाई मात्र च्यापेर अरुलाई बाइपास गर्नुभयो भन्छन् नि!

त्यति कडा टिप्पणी अहिले गर्दिनँ।

प्रतिनिधिसँग कसरी भोट माग्नुहुन्छ, के के छन् एजेन्डा?

अहिले देशमा भएका चुनौती व्यवस्थापन मेरो एजेन्डा हो। अहिले नेपालको संविधान र संघीय व्यवस्थामाथि चुनौती आइरहेको छ। यी चुनौती दिने शक्तिसँग जुध्नलाई पार्टी बलियो बनाउनुपर्छ, मेरो पहिलो एजेन्डा त्यो हो।

दोस्रो, हामी दल बन्ने प्रक्रियामा छौँ। दल भनेको सामूहिक भावनालाई प्रस्तुत गर्ने साधन हो। त्यो साधनलाई जगदेखि नै बलियो, खँदिलो बनायौँ भने तलदेखिको भावनालाई समेट्न सकिन्छ। अर्को राजनीतिक पार्टी र जनताको बीचको दूरी बढिरहेको छ। त्यसलाई पनि मेट्नुपर्ने देखिएको छ। त्यो सबै एक्लै हैन, सामूहिक रुपमा गएमात्र सम्भव छ।

नेपाल अहिले ग्लोबल पोलिटिकल पाेलोराइजेशनको दबाबमा छ। त्यसैले नेपाल आत्मघोषित असंलग्न परराष्ट नीतिका मान्यताभित्र स्थिर भई उभिन सक्ने शक्ति जरुरी छ। एमाले बलियो भयो भने त्यसको लागि शक्ति बन्न सक्छ।

हिजो अध्यक्षले जो जो सचिवको नाम लिनुभयो उहाँ सक्षम हुनुहुँदैन भनेर उम्मेदवारी दिनुभएको हो?

मैले अरु असक्षम भनेको हैन, म एउटा प्रतिस्पर्धीमात्र हो।

महाधिवेशन चलिरहेको छ, महाधिवेशनमा आएका हजारौँ प्रतिनिधिलाई बन्धक बनाएर सर्वसम्मतको नाम सार्वजनिक गर्ने काम भएको छ, त्यसलाई कसरी लिनु भएको छ?

यसलाई सहज निकास दिनुपर्थ्याे। कार्यकर्ता भनेको रोबोटिक इलिमेन्टमात्र हैनन्, उनीहरुले विवेकपूर्ण निर्णय गर्छन्। नवाैँ महाधिवेशन यसको उदाहरण हो।

तपाईले उम्मेदवारी दर्ता गर्दा घनश्याम भुसाल र भीम रावल ज्यूसँग पनि सल्लाह भयो ?

मेरो सबैजनासँग सल्लाह भएको छ, उहाँहरु सबैजना मेरा साथी हुन् नि त! फेरि हामी गुट भएर चुनाव लडिरहेका छैनौँ, व्यक्तिगत रुपमा चुनाव लडिरहेका छौँ। म सबैसँग सल्लाह गर्छु नि!

तर अध्यक्ष मण्डलले पेश गरेको जुन नामावली छ, त्यसलाई बन्दसत्रको हलले ताली पिटेको छ। बहुमत उता छ भन्ने प्रस्ट छ नि हैन?

बहुमत टेस्ट हुन त निर्वाचन प्रक्रिया छँदै छ निज्!

त्यो भएपछि मानिहालिन्छ नि! त्यो प्रक्रियाबाट म हारे भने, विजयी हुनुहुने साथीलाई हार्दिक हार्दिक बधाई दिएर पछि पार्टीका अरु काममा लागि हाल्छु नि!

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्