सामाजिक सुरक्षा प्रणालीमा १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिक सूचीकृत

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिक सूचीकृत भएको जानकारी दिएका छन्।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली सुरु भएको चार वर्ष पूरा भएको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले उक्त जानकारी दिएका हुन्।

सूचीकृत श्रमिकहरुले सामाजिक सुरक्षा कोषबाट सुविधा पनि पाउन थालिसकेको जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले यस प्रणालीबारे अझै पनि धेरै भ्रम र बुझाईको कमी रहेकाले त्यो भ्रम हटाउनुपर्ने बताए।

‘अहिले हामीकहाँ पनि केही समस्या छन्, हामी सबै सरोकारवालाहरुले त्यस्ता समस्याको उपयुक्त समाधान खोजी अघि बढ्नु पर्दछ’, उनले भने, ‘विद्यमान विवाद र द्विविधाको अन्त्य हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई हाम्रो आफ्नै परिवेश अनुकूल र आकर्षक वनाउन ऐन–कानुन र कार्यविधिमा थप सुधार र परिमार्जन गर्नेतर्फ सोच्नुपर्छ।’

वरिष्ठ उपाध्यक्ष ढकालले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सबैको साझा लक्ष्य भएको बताए। ‘सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाइहरु देखिएका र सूचीकरण प्रक्रिया सुस्त गतिमा रहेको भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचीकृत प्रतिष्ठान र श्रमिकको संख्याबाट निराश हुनुपर्ने छैन’, वरिष्ठ उपाध्यक्ष ढकालले भने।

अहिले प्रचलनमा रहेको संचयकोष र उपदानको व्यवस्थालाई बढीभन्दा बढी श्रमिकको हितमा हुने गरी व्यवस्थापन गर्न र त्यसका लागि सुविधा योजनालाई व्यवहारिक वनाउन पनि सोच्नुपर्ने उनको सुझाव थियो।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्