पत्रकार पौडेललाई विजयबाबु स्मृति पुरस्कार

काठमाडौँ –  यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशव पौडेललाई प्रदान गरिने भएको छ।

तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय पौडेल हाल न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक हुन्। उनी सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित भएका थिए।

स्वर्गीय पत्रकार खत्रीको दशौं स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार पौडेललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन्। पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री सहितको समिति गठन भएको थियो। सोही समितिले पत्रकार पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो। पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ।

आर्थिक पत्रकारितामा सक्रिय छँदा २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा खत्रीको निधन भएको थियो।

स्वर्गीय खत्रीको स्मृतिमा उनकी पत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते स्थापना गरेको अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ।

केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा मंसिर २४ गते पुरस्कार प्रदान गरिने छ।

यसअघि उक्त पुरस्कारबाट ध्रुवहरि अधिकारी र स्वर्गीय गोकर्ण गौतम पुरस्कृत भइसकेका छन्।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्