सुदूरपश्चिमका ४० प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप, भारतबाट आउनेलाई नाकामै खोप

फाइल तस्बिर।

धनगढी– सुदूरपश्चिम प्रदेशका करिब ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। प्रदेश सरकारले २० लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकको सूचिमा राखेको छ।

सो अनुसार ७ लाख ३१ हजार ७ सय ९० जनाले कोरोनाविरुद्धको दुई वटै (पूर्ण) खोप लगाएका छन् भने ७ लाख ८७ हजार ३ सय ४२ जनाले पहिलो चरणको खोप लगाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिह कार्कीले बताए।

‘सुदूरपश्चिममा लक्षित वर्गभित्रका करिब ४० प्रतिशत नागरिकले पहिलो चरणको खोप लगाएका छन्,’ प्रवक्ता कार्कीले भने,‘पूर्ण खोप लगाउने नागरिकको संख्या पनि ३७ दशमलव ५६ प्रतिशत पुगेको छ, खोप कार्यक्रम निरन्तर चलिरहेको छ।’

कोरोना संक्रमण फैलन नदिन भारतबाट आउने नागरिकलाई सीमानाकामै कोरोना खोप लगाउन सुरु गरिएको उनले बताए।

‘गड्डा चौकीबाट आउने नागरिकलाई पहिलेदेखि नै कोरोनाविरुद्धको खोप लगाउने गरिएको थियो,’ उनले भने,‘गौरिफण्टा नाकाबाट आउने नागरिकलाई पनि एक सातादेखि सीमामै खोप लगाउने व्यवस्था गरिएको छ, त्यसले पनि कोरोना नियन्त्रणमा सघाउ पुग्ने छ।’

उनले आगामी दिनमा सबै नागरिकलाई खोप लगाउन सजिलो हुने गरी योजना तयार गरिने बताए। त्यसका लागि सुदूरपपिश्चमका सबै जिल्लामा खोप उपलब्ध रहेको उनले बताए। उनले प्रदेशका लागि थप १३ लाख डोज कोरोनाविरुद्धको खोप केन्द्र सरकारसँग माग गरिएको बताए।

‘सबै नागरिकलाई सहजै खोप लगाउनका लागि थप १३ लाख खोपको आवश्यकता पर्नसक्छ भन्ने अनुमान गरिएको छ,’ उनले भने, ‘त्यसै अनुसार संघीय सरकारसँग माग गरिएको छ।’

‘ओमिक्रोन’ भेरियन्ट भित्रिन नदिन प्रदेश सरकारले तयारी थाल्दै


दक्षिण अफ्रिकालगायत विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखापरेपछि सुदूरपश्चिम प्रदेश सरकारले सो संक्रमण भित्रिन नदिन तयारी थालेको छ।

कोरोना संक्रमणको दोश्रो र तेश्रो भेरियन्टको जोखिम कम भइरहेका वेला नयाँ भेरियन्ट फेला परेपछि सुदूरपश्चिम प्रदेश सरकारले सबैलाई मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न र साबुन वा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न नागरिकलाई आग्रहसमेत गरेको छ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले नयाँ संक्रमण आए पनि पहिलाजस्तो समस्या नहुने बताए। अहिले सीमामा परिक्षण भइरहेको छ,’ प्रवक्ता कार्कीले भने,‘आइसियु, भेण्टिलेटरको पनि समस्या छैन, त्यसैले संक्रमण आइहाल्यो भन्दै डराउनु पर्ने अवस्था छैन, रोग भित्रिए पनि त्यसको सामना गर्न हामी तयार छौँ।’

सुरुवाती चरणमा आवश्यक उपकरण नहुँदा कोरोना संक्रमण नियन्त्रण गर्न धेरै समस्या भएको बताउँदै उनले सुरुवाति चरणभन्दा अहिले धेरै नै सजिलो हुने बताए। ‘अहिले हामिसँग आईसीयु, भेण्टिलेटरको पनि व्यवस्था भइसकेको छ,’ उनले भने,‘सीमामा परीक्षण गर्न आवश्यक किटको पनि व्यवस्था राम्रो छ, त्यसैले अब रोगको सामना गर्न प्रदेश सरकार सक्षम हुनेछ।’

उनले सुदूरपश्चिमका सबै नागरिकलाई आफ्नो स्वास्थ्यको आफै ख्याल गर्न आग्रह गरेका छन्। ‘अहिले लापरबाही धेरै बढेको छ,’ प्रवक्ता कार्कीले भने,‘मास्क कसैले लगाएको देखिँदैन, स्यानिटाइजर, साबुनको प्रयोग पनि न्यून देखिन्छ। अब यस्तो लापरबाही नगरौँ, आफ्नो स्वास्थ्यको आफै ख्याल गरौँ।’

उच्च व्यक्तित्वलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्न उनले आग्रह गरेका छन्। राजनीतिक दल तथा सरकारका उच्च ओहोदामा बसेका व्यक्तिबाटै स्वास्थ्य मापदण्डका नियमको उल्लंघन हुँदा सर्वसाधारण नागरिकलाई नियम पालना गराउन समस्या हुने गरेको उनी बताउँछन्।

‘अहिलेसम्म राजनीतिक नेतृत्वले गरेको लापरबाहीका कारण नागरिकलाई नियम पालना गराउन धेरै समस्या हुँदै आएको छ,’ उनले भने, ‘अब त्यसो नहोस् भन्ने हाम्रो चाहना हो, राजनीतिक नेतृत्वले मापदण्डको पालना गरेमा आम नागरिक पनि त्यसको सिको गर्दछन्।’

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोना भाइरस (कोभिड–१९) नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ। डब्यूचओले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

विगतमा कोरोना भाइरसको महामारी हुँदा देशका अन्य नाकाको तुलनामा सबैभन्दा बढी पश्चिमी सीमा नाका भएर आवागमन भएको थियो। सो समयमा त्रिनगर र गड्डाचौकी नाका भएर भित्रिनेको संख्या दैनिक हजारौं थियो। अहिले पनि निर्वाध रुपमा आवागमन भइरहेको छ भने सुरक्षा सतर्कता अपनाइएको छैन।

भारतमा ’ओमिक्रोन’को संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने देखिएको छ। आवागमन निर्वाध भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन समय नलाग्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए। ‘हङकङमा कोभिडको नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि आउँदैन भन्न सकिन्न,’ उनले भने, ‘यसबारेमा सरकारका विज्ञले अध्ययन गरिरहेका होलान्, हामीलाई त्यसबारेमा केही भनिएको छैन।’

कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई पनि ओमिक्रोन भेरियन्टको संक्रमण हुने चेतावनी चिकित्सकको छ। हाल उपलब्ध अधिकांश खोप कोरोनाको स्पाइक जीनलाई नै लक्षित गरेर विकास गरिएका छन्। तर खोप लगाएपछि बनेका एन्टिबडीले स्पाइक जीनमा अत्याधिक स्वरूप परिवर्तन भए त्यसको पहिचान गरी निष्क्रिय पार्न सक्ने सम्भावना कम हुनेछ। अर्थात्, खोपको हाल स्थापित प्रभावकारिताको स्तर खस्कन सक्ने सम्भावना रहन्छ। त्यसैले कोरोनाविरुद्धको खोपले पनि काम गर्दैन कि भन्ने प्रश्न उब्जिएको हो।

संघीय स्वास्थ्य मन्त्रालयको निर्देशनपछि मात्रै तयारी गर्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अवस्थीले बताए। ‘अहिले हाम्रो तयारी केही छैन,’ उनले भने, ‘संघीय सरकारको निर्देशनपछि मात्रै हाम्रो तयारी हुन्छ।’

सुदूरपश्चिम अस्पतालमा अहिलेसम्म पनि विगतमा खरिद भएका आईसीयु, भेन्टिलेटर र अक्सिजन प्लान्ट सञ्चालन हुन सकेका छैनन्।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्