काठमाडौँ– शिल्पी थिएटरले राजधानीको बसन्तपुरमा नाटक ‘साना माछा–ठूला माछा’ (तःरिम्ह न्याँः चिरिम्ह न्याँ)को मञ्चन गरेको छ।

मुक्त रंगमञ्च अभियानअन्तर्गत शिल्पीले विभिन्न स्थानमा उक्त नाटक मञ्चन गर्दै आएको छ।

आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक चेतना अभिवृद्धिका लागि सो अभियान सञ्चालन गरिएको शिल्पी थिएटरले जनाएको छ।

यसअघि उक्त नाटक कार्तिक ५ गतेदेखि १६ गतेसम्म झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा देखाइएको थियो। पछिल्लो समय उक्त नाटक काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको छ।

काठमाडौँ उपत्यकामा नाटकको पहिलो मञ्चन यही मंसिर १० गते कीर्तिपुरको बागभैरव मन्दिरमा गरिएको थियो। यो नाटकको परिकल्पना र निर्देशन घिमिरे युवराजको हो।