उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, राति २ बजेदेखि बिहान ८ बजेसम्म मतदान

सौराहा- एमाले केन्द्रीय कमिटिको निर्वाचनका लागि केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ।

निर्वाचनको परिमार्जित कार्यतालिकाअनुसार मंगलबार बिहान २ बजेदेखि ८ बजेसम्म मतदानको कार्यक्रम छ।

यसअघि बेलुका ९ बजेदेखि मतदान हुने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरे पनि सर्वसहमतिको प्रयासले ढिलो हुँदा मध्यरातिदेखि मतदान गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरिएको हो।

दिउँसो १२ः०५ बजे उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेर राति ९ बजे मतदान गर्ने तयारी थियो। निर्वाचन आयोगका अध्यक्ष विषय सुब्बाका अनुसार बिहान ८ बजेसम्म मतदान हुनेछ।

एमालेले अधिकांश पदमा सर्वसहमत नेतृत्व चयन गरे पनि अध्यक्षसहित १० वटा पदमा उम्मेद्वार हुने भएको छ।

अध्यक्षमा केपी शर्मा ओलीलाई वर्तमान उपाध्यक्ष भीम रावलले रणनीतिक चुनौती दिँदै छन्। उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारीका कारण सर्वसम्मत गर्न खोजिएका नेताहरुले मतदानमा भाग्य परीक्षण गर्नुपर्ने अवस्था छ। उता सचिव पदका सात सीटका लागि पनि टंक कार्की र भीम आचार्यसहित ९ जनाको उम्मेदवारी छ।

त्यस्तै प्रदेश १ को खुल्लातर्फका केन्द्रीय सदस्य, सुदूरपश्चिमको खुला र महिला केन्द्रीय सदस्य, दलित खुला, थारु खुला र पिछडिएको क्षेत्रका खुला सदस्यहरुका लागि मतदान हुनेछ।

एमालेले विद्युतीय मेसिनबाट मतदान गराउँदैछ।

विद्युतीय मेसिनबाट मतदान हुने भएकाले मतदान सकिएको केही बेरमै अन्तिम नतिजा प्रकाशित हुनेछ।

 

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्