ओमिक्रोन चिन्ताको विषय हो, तर अत्तालिनु पर्दैन – बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको नयाँ भेरियन्ट चासो र चिन्ताको विषय रहे पनि अत्तालिनु नपर्ने बताएका छन्।

उत्तर अमेरिकामा पनि ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको भोलिपल्ट बाइडेनले सोमबार अमेरिकी नागरिकलाई सतर्क हुन तर नआत्तिन भनेका हुन्।

क्यानडामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। अमेरिकाले संक्रमण फैलिन नदिन भन्दै दक्षिण अफ्रिकासहित ८ अफ्रिकी देशबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ।

बाइडेनले खोपको पूर्ण मात्रा लगाएकाहरुलाई थप मात्रा (बुस्टर डोज) लिन र मास्क लगाउन अपिल गरेका छन्।

तत्कालका लागि थप यात्रा प्रतिबन्ध तथा लकडाउनको सम्भावना नरहेको पनि बाइडेनले जानकारी गराएका छन्।

ओमिक्रोनको संक्रमण अमेरिकामा पनि कुनै न कुनै बेला पुष्टि हुने सम्भावना रहेको तर आत्तिनु भने नपर्ने उनको भनाइ छ।

यसअघि ओमिक्रोनका कारण विश्वभर नै संक्रमण फेरि तीव्र गतिमा फैलिने जोखिम बढेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको थियो।

ओमिक्रोनका कारण विश्वका केही क्षेत्रको अवस्था गम्भीर हुन सक्ने सोमबार डब्लुएचओले बताएको हो।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट प्रारम्भिक तथ्यहरुका आधारमा निकै संक्रामक देखिएको छ। यस्तै यो भेरियन्टका कारण पुनः संक्रमणको जोखिम पनि उच्च रहेको उल्लेख छ।

भेरियन्टका बारेमा तत्काल जानकारी सार्वजनिक गरेको भन्दै दक्षिण अफ्रिकाको प्रशंसासमेत भएको छ। तर धेरै देशले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् र दक्षिण अफ्रिकाले यो अन्यायपूर्ण रहेको बताएको छ।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्