ट्वीटरका सिइओले राजीनामा दिएपछि कंगनाले भनिन्-बाई चाचा ज्याक, अनुपमले गरे नयाँलाई स्वागत

सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सी राजीनामापछि कंगना रनौतले आफ्नो उत्साह इन्स्टाग्राममा पोखेकी छन्। उनले ट्वीटरबाट ज्याकको बिदाई सम्बन्धी ट्वीटको तस्बिर इन्स्टाग्रामको स्टोरीमा राख्दै ‘बाई चाचा ज्याक’ लेखेकी छन्।

ज्याक जिम्मेवारीमा रहँदा कंगनाको ट्वीटर एकाउन्ट उनले सँधैका लागि निलम्बन गरेका थिए। कंगनाकी बहिनी रंगोली चन्डेलको पनि ट्वीटर एकाउन्ट ससपेन्ड भएको थियो। तर पछि उनले अर्कै एकाउन्ट बनाइन्। त्यसैले ज्याक सिइओबाट हट्ने खबरले कंगना उत्साहित देखिएकी हुन्।

ट्वीटरका सिइओ ज्याकले आफूले राजीनामा दिएको बताएको खबरले भारतका अन्य कलाकारहरु पनि उत्साहित भएका छन्।

यो खबरलाई भारतीयले उत्साहजनक रुपमा हेर्नुको अर्को कारण भनेको नयाँ सिइओ हुन्। ज्याक पछि सिइओ नियुक्त हुने व्यक्ति भारतीय मुलका अमेरिकी नागरिक हुन्। ज्याकको ठाउँ अब पराग अग्रवालले लिनेछन्।

यो खबरले भारतका प्रसिद्ध अभिनेता अनुपम खेरलाई पनि सन्तुष्टि मिलेको छ। ट्वीटरमा आफ्नो विवादास्पद अभिव्यक्ति राखेको कारण केही ट्वीट हटाइएको थियो। तर उनले ज्याक बाहिरिएको कारण भन्दा पनि परागको आगमनले खुशी भएको आशययुक्त ट्वीट गरेका छन्।


उनले हिन्दीमा भारतीय भाइ ट्वीटरको सिइओ बन्न सक्छन् भने जे पनि हुन सक्छ भनेका छन्।

ज्याकले सोमबार ट्वीटरबाट राजीनामा दिएका हुन्। उनी ट्वीटरका सहसस्थापक हुन्। उनी पछिल्लो १६ वर्षदेखि ट्वीटरमा आवद्ध थिए।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्