बलात्कार आरोपमा दुई युवा पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज – एक युवती र एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साबाट दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–७ रामटोल बस्ने २१ वर्षीय बाबु भनिने विक्रम पटेल कुर्मीलाई पक्राउ गरेको हो। पक्राउ परेका कुर्मीले पीडित युवतीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई गत शुक्रबार सिर्सिया खोलाको किनारको रहरबारीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

युवतीका अभिभावकले दिएको जाहेरीको आधारमा कुर्मीलाई उनकै घरबाट पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साको जिराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह कानुलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कानुले गत शनिबार पीडित बालिकाका अभिभावकहरु घरमा नभएको मौका छोपी घरमै पसेर जबरजस्ती करणी गरेका थिए।

पक्राउ परेका कुर्मी र कानु दुवैजनालाई जबरजस्ती करणी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता खनालले बताए।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्