लेवान्डोस्कीकाे तारिफ गर्दै मेस्सीले भने- तिमीलाई जित्न पाएकोमा सम्मानित महसुस भएको छ

हालै मेस्सीले कीर्तिमान बढाउँदै सातौँपटक बालोन डी’ओर जितेका थिए ।

सातौँपटक बालोन डी’ओर जितेपछि फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन-पीएसजीका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पार्न सकेकोमा सम्मानित महसुस भएको बताएका छन्।

विजेताका रुपमा आफ्नो नाम घोषणा भएपछि अवार्ड थाप्ने क्रममा मेस्सीले भनेका छन्, ‘तिमीलाई पछि पारेर अवार्ड जित्न पाएकोमा सम्मानित भएको कुरा रोबर्ट लेवान्डोस्कीलाई बताउन चाहन्छु।’

लेवान्डोस्की यो वर्ष दोस्रो स्थानमा रहे। गत वर्ष फिफा वर्ष खेलाडी अवार्ड जितेका लेवान्डोस्की बालोन डी’ओरको पनि हकदार थिए तर कोरोना महामारीको कारण देखाएर त्यस वर्ष यो अवार्ड वितरण गरिएन।

सम्बोधनका क्रममा  मेस्सीले लेवान्डोस्कीलाई इंगित गर्दै भनेका छन्, ‘गत वर्ष लेवान्डोस्की बालोन डी’ओरको हकदार थिए।’ २०१९/२० सिजन लेवान्डोस्की आबद्ध बार्यन म्युनिखले घरेलु लिग र च्याम्पियन्स लिग दुवै जितेको थियो।

लेवान्डोस्कीले गत सिजन क्लब फुटबलमा ४८ गोल गरेका थिए। उनी बुन्डेस लिगाको एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीमात्र बनेनन् युरोपका ठूला लिगमा हरेक सिजन सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिँदै आएको युरोपियन गोल्डेन बुट पनि प्राप्त गर्न सफल भएका थिए।

गत सिजन उनले क्लब विश्वकप र बुन्डेस लिगासहित तीन उपाधि जितेका थिए। लेवान्डोस्कीले सन् २०२१ मा मात्र ६४ गोल गरेका छन् भने १० गोलमा असिस्ट पनि रहेको छ। तर कोपा अमेरिका जित्नु मेस्सीका लागि बालोन डीअर हात पार्ने मुख्य कारण बनेको थियो। उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए।

‘अर्जेन्टिनाबाट उपाधि जितेकाले ब्यालोन डी’ओर यसपटक विशेष’

मेस्सीले यसपटकको बालोन डी’ओर विशेष महत्वकाे भएको बताएका छन्।  दुई वर्षअघि आफूले यो अवार्ड जित्दा अब त्यो अन्तिमपटक जस्तो महसुस भएको र ‘मैले संन्यास कहिले लिन्छु भन्नेतर्फ प्रश्न उठेको’ पनि उनले उल्लेख गरेका छन्।

‘फेरि यहाँ रहन पाउँदा निकै खुसी लागेको छ’, सम्बोधनका क्रममा मेस्सीले भनेका छन्, ‘दुई वर्षअघि यहाँ अवार्ड थाप्दा मलाई लागेको थियो- अब फेरि जित्ने छैन होला। मानिसहरुले मलाई कहिले संन्यास लिनुहुन्छ भनेर प्रश्न गर्न थालिसकेका थिए तर आज म फेरि यहाँ पेरिसमा छु र निकै खुसी महसुस भइरहेको छ।’

मेस्सीले निकै आलोचनापछि अन्तत: अर्जेन्टिनाका लागि उपाधि जित्न पाएकोमा बालोन डी’ओरको महत्व यसपटक विशेष रहेको पनि बताएका छन्। ‘मलाई थाहा छैन, यो वर्ष मेरो खेल जीवनको सर्वोत्कृष्ट समय हो वा होइन। मेरो खेलाडी जीवन लामो रहेको छ। तर कठिन समय र आलोचनापछि अर्जेन्टिनाका लागि उपाधि जित्न पाएकाले पक्कै पनि विशेष रहेको छ’, उनले भनेका छन्।

विश्व चर्चित माराकानामा ब्राजिललाई १-० गोलले हराएर कोपा अमेरिकाको उपाधि जित्नु अझ उल्लेखनीय रहेको चर्चा गर्दै उनले अर्जेन्टिनी जनतासँग खुसी साट्न पाएकोमा गर्व लागेको बताएका छन्।

मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ तथा २०१९ मा पनि बालोन डी’ओर जितेका थिए। मेस्सी यो अवार्ड सर्वाधिक जित्ने खेलाडी हुन्। उनीपछि म्यानचेस्टर युनाइटेडका पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले पाँचपटक यो अवार्ड हात पारेका छन्।

फ्रान्सको न्युज म्यागजिन फ्रान्स फुटबलले वर्षभरि सर्वोत्कृष्ट प्रदर्शन गर्ने फुटबल खेलाडीलाई प्रदान गर्ने यो अवार्डका लागि यसपटक ३० खेलाडीको ‘सर्टलिष्ट’ यसअघि सार्वजनिक गरिएको थियो।

लेवान्डोस्कीको न्यायका लागि ‘नयाँ अवार्ड’

गत वर्ष बलियो हकदार भएर पनि आफ्नो निर्णयका कारण छुट्याइएका लेवान्डोस्कीलाई फ्रान्स फुटबलले यसपटक नयाँ अवार्ड सृजना गरी न्याय गर्ने प्रयास गरेको छ।

अवार्ड वितरणभन्दा केही घण्टाअघि मात्र यसपटक वर्षको सर्वोत्कृष्ट स्ट्राइकर अवार्ड पनि वितरण हुने जानकारी सार्वजनिक भएको थियो। लेवान्डोस्कीले यो अवार्ड पाएका छन्। यो सिजन पनि लेवान्डोस्की उच्च लयमा रहेका छन्।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्