मेस्सीले भन्दा बढी बालोन डीओर जितेपछि मात्र सन्याश लिने दावीपछि फ्रान्स फुटबलका सम्पादकमाथी खनिए रोनाल्डो

आफुले लियोनल मेस्सीले भन्दा धेरै बालोन डीओर जितेपछि मात्र सन्याश लिने भनेको भन्दै फ्रान्स फुटबलका सम्पादकले बताएपछि त्यसविरुद्ध क्रिस्टियानो रोनाल्डो खनिएका छन्।

फ्रान्स फुटबलका सम्पादक पास्कल फेरले न्युयोर्क टाइम्सलाई भनेको उक्त कुरा झुटो भएको दावी रोनाल्डोको छ। मेस्सीले सातौँपटक, सोमबार बालोन डीओर अवार्ड जितेका थिए। यो अवार्ड न्युज म्यागजिन फ्रान्स फुटबलले वर्षभर सर्वोत्कृष्ट प्रदर्शन गर्ने विश्वका एक जना खेलाडीलाई प्रदान गर्ने गर्छ। रोनाल्डोले हालसम्म पाँचपटक यो अवार्ड जितेका छन्।

‘म सँधै मेरा लागि र आफुले खेल्ने क्लबका लागि जित्न चाहन्छु। मलाई माया गर्नेहरुका लागि जित्न चाहन्छु। तर कसैका विरुद्ध जित्न चाहन्न’, न्युयोर्क टाइम्समा आएको समाचार प्रतिवाद गर्दै रोनाल्डोले भनेका छन्।

यसअघि न्युयोर्क टाइम्ससँग शुक्रबार फेरले भनेका थिए- रोनाल्डोको एक मात्र उदेश्य छ, सन्याश लिनुअघि मेस्सीभन्दा धेरैपटक बालोन डीओर जित्ने। यो कुरा उनले आफै मलाई भनेका थिए।

तर फेरको  दावी प्रतिवाद गर्दै रोनाल्डो भन्छन्- फेरले झुटो बोले। उनले आफ्नो र आफु काम गर्ने संस्थाको प्रचार गर्न मेरो नाम प्रयोग गरे। यति प्रतिष्ठित अवार्ड प्रदान गर्ने संस्थाको व्यक्तिले यति झुटो कुरा गर्नु अस्विकार्य छ। फ्रान्स फुटबल र बालोन डीओरको सँधै सम्मान गर्दै आएको मेरा लागि यो अपमान हो।

रोनाल्डोले आफ्नो जिवनको सबैभन्दा ठुलो लक्ष्य विश्व फुटबलको इतिहाँसमा आफ्नो नाम सुनौलो अक्षरले लेख्नु रहेको पनि उल्लेख गरेका छन्।

 

 

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्