एमाले महाधिवेशनले पारित गर्‍यो १७ बुँदे प्रस्ताव, बामपन्थीहरुलाई एमालेमा आबद्ध हुन आह्वान

काठमाडौं- चितवनमा जारी नेकपा एमालेको १० ‍औँ महाधिवेशनले १७ वटा प्रस्ताव पारित गरेको छ।

प्रदिप ज्ञवालीले प्रस्ताव गरेका ती प्रस्तावहरु महाधिवेशनले पारित गरेको हो।

पारित प्रस्तावअनुसार सम्पूर्ण बामपन्थी विचारधाराहरुलाई एमालेमा आबद्ध हुन आह्वान गरिएको छ।

पार्टीका सबै तहका कमिटीलाई आसन्न निर्वाचनको तयारीमा लाग्न र आफ्नो कार्य क्षेत्रमा पार्टीको जित सुनिश्चित गर्न आह्वान गर्ने प्रस्ताव पनि पारित गरेको छ।

राष्ट्रिय राजनीति चुनौतीपूर्ण अवस्थामा गुज्रिरहेको अवस्थामा पार्टीको काँधमा ठुलो जिम्मेवारी रहेकाले त्यसप्रति एमाले संवेदनशिल र सजक रहेको, प्रमुख प्रतिपक्षी पार्टी र सबैभन्दा ठुलो दल भएकाले राष्ट्रिय हितको रक्षा र  राष्टंरियतालाई सुदृण गर्न, संविधानको रक्षा र यसको कार्यान्वयन गर्न, संवैधानिक र लोकतान्त्रिक प्रकृय पथ विचलित नहोस् भन्ने सुनिश्चित गर्न तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न आगामी दिनमा एमालेले अझ प्रभावकारी भूमिका खेल्ने प्रस्ताव पनि पारित भएको छ।

जनताको जनादेशसहित छिट्टै दुई तिहाई बहुमतसहित राज्यको नेतृत्वदायी भूमिकामा पुनर्स्थापित हुने, उक्त जनादेशलाई सामाजिक, आर्थिक रुपान्तरण तथा समृद्धीका लागि समर्पित गर्ने संकल्प पनि महाधिवेशनले पारित गरेको छ।

एमालेलाई अग्रगामी रुपान्तरणको नेतृत्वदायी तथा निर्णायक शक्तिका रुपमा स्थापित गर्न वैचारिकरुपमा थप सुस्पष्ट, संगठनात्मकरुपमा थप व्यवस्थित र सुदृण तथा  भावनात्मकरुपमा आत्मिय र अनुशासित बनाउने संकल्प पनि महाधिवेशनले गरेको छ।

दक्षिणपन्थी अवसरवाद कम्युनिष्ट आन्दोलनको मुख्य चुनौतीका रुपमा देखा परेको भन्दै जनताको अभिमतलाई लगेर प्रतिक्रियावादीको पाउमा चढाउने, स्थायी राजनीतिलाई  भत्काउने, जनविरोधी शक्तिसँग साँठगाठ गर्ने तथा व्यक्तिगत तथा गुटगत स्वार्थका लागि कम्युनिष्ट आन्दोलनको भविस्यमाथी प्रहार गर्ने अवसरवादलाई वैचारिक र राजनीतिकरुपमा परास्त गर्नुपर्ने भन्दै  दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादलाई  पराजित गर्दै जबजको मार्ग दर्शनमा ‘समाजवादको आधार निर्माण गरौँ। बलियो पार्टी र समृद्ध राष्ट्र निर्माण सँगसँगै अगाडि बढाऔँ’ भन्ने प्रस्ताव पनि पारित गरेको छ।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्