प्रदेश १ मा तेक्वान्दो खेलाडी र प्रशिक्षक सम्मानित

मोरङ– प्रदेश १ मा तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन्।

विराटनगरमा मंगलबार आयोजित तेक्वान्दो संघको २० औँ वार्षिक उत्सवका क्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडीलाई सम्मान गरेका हुन्।

नेपाल तेक्वान्दो संघ प्रदेश १ द्वारा आयोजित सम्मान कार्यक्रममा यसवर्ष पुरुष खेलाडीतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बु उत्कृष्ट रहे।

त्यसैगरि, प्रदेशमा वर्षको उत्कृष्ट प्रशिक्षक मोरङका राजेन्द्र धिमाल र प्रदेशकै उदयमान प्रशिक्षकका रुपमा मोरङका नितेश खवास घोषित भए।

कार्यक्रममा तेक्वान्दोलाई वर्षभर चलायमान बनाउन सफल सुनसरी जिल्ला प्रदेश १ कै उत्कृष्ट जिल्ला घोषित भएको छ। केही समयअघि प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गरेको मोरङको कानेपोखरी डोजाङ्गलाई पनि उत्कृष्ट डोजाङका रुपमा पुरस्कृत गरिएको छ।

कार्यक्रममा तेक्वान्दो संघका संस्थापक कोषाध्यक्षसमेत रहेका मुख्यमन्त्री राईले आत्मरक्षा र अनुशासनका लागि खेल प्रत्येक व्यक्तिको जीवनमा महत्वपूर्ण रहेको बताए। खेल क्षेत्र कहिल्यै पनि सरकारको प्राथमिकतामा पर्न नसकेकोमा उनले चिन्ता व्यक्त गरे।

विगतमा खेल क्षेत्रलाई हेर्न दृष्टिकोण फरक भए पनि अबको प्रदेश सरकारको प्राथमिकतामा खेल क्षेत्र र त्यसको विकास रहने मुख्यमन्त्री राईले बताए।

कार्यक्रममा आयोजक तेक्वान्दो संघ प्रदेश १ का अध्यक्ष प्रविनकुमार कार्कीले तेक्वान्दोलाई प्रदेशमा गतिशिल बनाउन सरकारले अर्जुनदृष्टि राख्नुपर्नेमा जोड दिए।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्