ललितपुरको पाटन ढोकामा ‘स्मार्ट शौचालय’ सञ्चालन, लागत ८० लाख

काठमाडौँ– ललितपुरको पाटन ढोकामा ‘स्मार्ट शौचालय’ सञ्चालनमा आएको छ। मंगलबार रिजनल काउन्सिल अफ एसिया (आर्कसिया) र सोसाइटी नेपाली आर्किटेक्स् (सोना) तथा एरोशानको सहयोगमा निर्मित सो शौचालयको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन्।

सो कार्यक्रममा बोल्दै मेयर महर्जनले सो योजना ललितपुर महानगरपालिकाका लागि ‘माइलस्टोन’ रहेको बताए।

यस्तै एरोशान सस्टेनेवल स्यानिटेशनका कार्यकारी प्रमुख प्रकाश अमात्यले ललितपुरको दोस्रो ठाँउमा शौचालय सञ्चालनमा ल्याउन पाउँदा निकै उत्साहित भएको बताए।

उनका अनुसार शौचालयमा सुधारका लागि राजनीतिक इच्छा शक्ति, शौचालयमा बाहल प्रणालीमा नलगाउने र व्यवस्थापन कार्य नियमन विधि हुनुपर्छ। त्यसका लागि ललितपुर महानगरपालिकासँग काम भइरहेको पनि उनले जानकारी दिए।

उनले भने, ‘यो शौचालय निर्माणको कुरा गर्दा मेयरले भन्नुभयो यो शौचालय बनाउने जिम्म लिए मात्र बनाउन दिन्छु, ठेक्कामा बनाउन दिन्न। जिम्मा अनुसार बनेको छ।’

उनले पाँच तारे होटलको भन्दा पनि राम्रो शौचालय बनेको दावी गरे।

शौचालय निकै आकर्षक डिजाइनमा बनेको छ। भित्र प्रवेश गर्दा दाँयातिर महिला शौचालय छ। जहाँ महिलाहरुका लागि आवश्यक स्यानिटाइजर, स्तनपान क्षेत्र र बच्चाका लागि डाइपर चेन्ज गर्ने ठाँउ छ।

बाँयापट्टी समावेशी शौचालय छ। जहाँ अशंक्त, वृद्ध, लगायतका व्यक्तिहरुका लागि निर्माण गरिएको छ। सिधा अगाडि पुरुष शौचालय छ।

शौचालयको बाहिर निस्कदा बाँयापट्टी क्यान्टिन छ। जहाँ शौचालयबाट निस्केको बायोग्यासबाट खानेकुरा पकाइन्छ।

शौचालयमा प्रयोग हुने हरेक सामान ‘टच लेस’ रहेको पनि कार्यकारी प्रमुख अमात्यले बताए। ‘जस्तै तपाइलाई धारामा हात छुनु पर्‍यो। तपाईंले धारालाई छुन पर्दैन, धाराको तल हात राख्दा हुन्छ।’

यस्तो सुविधा पाँच तारे होटलमा पनि नहुने उनले दावी गरे।

ललितपुर र काठमाडौँमा गरी ६ ठाउँमा शौचालय सञ्चालनमा ल्याइसकेको उनले बताए। उनले एरोशान र सोनाले ४०–४० लाख गरी ८० लाखको लागतमा शौचालय निर्माण गरिएको जानकारी दिए।

यस्तै शौचालयको सरसफाइमा बहिरा समुदायका व्यक्तिहरुलाई रोजगारी दिएको उनले बताए।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्