प्रदेश १ का मुख्यमन्त्री राई भन्छन्ः केही समयपछि मन्त्रालयको संख्या बढाउँछौँ

मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धन सरकारले केही समयपछि मन्त्रालय विस्तार गर्ने बताएका छन्।

विराटनगरस्थित नेपाल पत्रकार महासंघको शाखामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै गठबन्धनलाई भाग पुर्‍याउने भन्दा पनि काम चुस्त बनाउनका लागि मन्त्रिपरिषद् विस्तार गर्नु उपयुक्त हुने मुख्यमन्त्री राईले बताए।

सरकार आर्थिक भार र भौतिक व्यवस्थापनको आन्तरिक अध्ययन टुंग्याएर केही मन्त्रालय विस्तार गर्नेतर्फ केन्द्रीत रहेको मुख्यमन्त्री राईले बताए।

विगत सरकारले कामको चाप खापेर एकै मन्त्रालयबाट काम गर्दै आएको बताएका मुख्यमन्त्री राईले भने, ‘काम प्रकृति हेर्दा विगतको सरकारले मन्त्रालय विस्तार गर्नुपर्ने थियो। तर सरकारको सुस्तताले त्यो हुन सकेन। यद्यपि अब उपयुक्त ढंगबाट केही मन्त्रालय बढाउने छौँ। यसबारे केही आन्तरिक छलफल भइरहेको छ।’

यसका लागि दलहरुको अधिवेशन टुंगिएपछि मन्त्रालय विस्तारको कामले तीव्रता पाउने उनको भनाइ छ। विगत सरकारले गठन गरेको प्रदेश पर्यटन बोर्ड र प्रदेश सञ्चार प्रतिष्ठान खारेजीपछि विस्तारै प्रदेश खेलकुद बोर्ड पनि खारेजी गर्ने उनले बताए।

मुख्यमन्त्री राईले भने, ‘हामी व्यक्ति पार्टी हेरिरहेका छैनौँ। गठनको प्रक्रिया वा रित पुगेको वा नपुगेको अध्ययन गर्दैछौँ। संविधान मिचेर निर्माण भएका संरचना खारेजी हुनेछन्। हामी गलत थिति बसाउन हुँदैन भन्नेतर्फ केन्द्रीत छौँ।’

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्