कांग्रेस अधिवेशनः मोरङ सभापतिको चुनावमा आइतबारको भन्दा ५३ मत कम खस्यो

मोरङ– नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिका लागि दोस्रो पटकको निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा कम मत खसेको छ।

जिल्ला निर्वाचन समितिका मतदान अधिकृत दुर्गाप्रसाद पोखरेलका अनुसार विराटनगर ३ शंकरपुरको मैदानमा सम्पन्न मतदानमा कुल ३ हजार ३ सय ६० मत खसेको छ।

मध्याह्न १२ बजेबाट बेलुका ५ बजेसम्मका लागि निर्धारण गरिएको मतदान प्रक्रियामा सो संख्यामा मतदाताको सहभागिता रहेको हो। मतदाताको कुल संख्या ३ हजार ५ सय १७ रहेको थियो।

मतदान अधिकृत पोखरेलले यसपटक मतदाता संख्याभन्दा १ सय ५७ मत कम खसेको बताए।

यसअघि आइतबार सम्पन्न भएको निर्वाचनमा ३ हजार ४ सय १३ मत खसेको थियो। पहिलो मतदान प्रक्रियामा भन्दा दोस्रो पटक मंगलबार ५३ मत कम खसेको समितिले जनाएको छ।

जिल्ला सभापतिका लागि संस्थापन इतरका डिगबहादुर लिम्बू र संस्थापन पक्षका दिलिप गच्छदारबीच प्रतिस्पर्धा रहेको छ। पहिलो निर्वाचनमा पहिलो स्थानमा रहेका लिम्बूले १ हजार ५ सय ४४ मत पाएका थिए। त्यसैगरि, दोस्रो स्थानमा रहेका गच्छदारले १ हजार १ सय ६६ मत पाएका थिए। सो क्रममा तेस्रो धारबाट मैदानमा उत्रिएका यदुकुमार विष्टले ५ सय ६३ मत पाएका थिए।

दोस्रो चरणको निवार्चन प्रक्रियाबाट बाहिरिएका विष्टले सोमबार बेलुका गच्छदारलाई समर्थन गर्ने घोषणा गरेका थिए। विष्टले गच्छदारलाई समर्थन गर्ने क्रममा उनलाई आएको मत लिम्बूको विपक्षमा खसाल्न मतदातालाई आह्वान गरेका थिए।

यद्यपि, कोइराला पक्षधर सभापतिका उम्मेदवार लिम्बुले उम्मेद्वारबारे मतदाता सबै जानकार रहेको हुँदा सही व्यक्तिको चयन गर्न मत हाल्नेमा विश्वस्त रहेको बताएका थिए।

गच्छादारको समर्थनमा विराटनगर महानगरपालिका मेयर भीम पराजुली, राजु मास्केसमेत रहेका थिए। कृष्णप्रसाद सिटौला पक्षधरबाट चिनिदै आएका पराजुलीको समर्थन गच्छदारलाई रहनुले शीर्ष तहमा सिटौला, प्रकाशमान सिंह र रामचन्द्र पौडल गठबन्धनले डा. शेखर कोइरालालाई सभापति दौडबाट हटाउनेतर्फ लक्षित रहेको एक नेताले बताएका छन्।

जिल्ला तहमा कोइराला पक्षधरका सभापतिलाई पराजित गर्न सके कोइराला खेमा कमजोर हुने माथिल्लो नेताहरुमा बुझाइ रहेको उनको भनाइ छ।

आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा उपसभापतिका लागि संस्थापन इतरबाट नागेश कोइराला, संस्थापन पक्षबाट सुबोधकुमार सिंह, गोपालबहादुर थापा, भक्तीनाथ माझी र राजु मास्के रहेका थिए।

त्यसैगरि सचिवतर्फ संस्थापन इतरमा ललितबहादुर श्रेष्ठ, मोदराज घिमिरे, रविन राई, संस्थापन पक्षबाट शिवप्रसाद ढकाल, ज्ञानेन्द्र ढकाल, मनोज बस्नेत रहेका छन्।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्