एमाले दसौँ केन्द्रीय कमिटीको पहिलो बैठक मंगलबार बेलुकी नै

फाइल तस्बिर

सौराहा- एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १० औँ केन्द्रीय कमिटीको पहिलो बैठक मंगलबार बेलुकी नै बस्ने बताएका छन्।

उनले बन्दसत्रमा सम्बोधन गर्दै केन्द्रीय कमिटीको अर्को बैठक २५ र २६ गते काठमाडौँमा बस्ने बताए।

ओलीले सौराहामा आयोजित बन्दसत्रमा आगामी तीन महिनासम्म एकीकरणको अभियान चलाउने बताए।

‘विभिन्न पार्टीका कार्यकर्ता ल्याउनुपर्छ, अभियान सिर्जना गरेर पार्टीलाई अगाडि लैजानुपर्छ,’ उनले भने।

उनले अहंकारी व्यक्ति नेता नहुने उल्लेख गर्दै थपे-  ‘हामी सबैले विनम्रताका साथ, सहिष्णुताका साथ सबैसँग व्यवहार गर्नुपर्छ।’

ओलीले भने- ‘ऐतिहासिक महाधिवेशन शानदार ढंगले सफलताको विन्दुमा आइपुगेको छ।’

उनले भने- ‘तीन दिनको सामग्री बोकेर आएका साथीहरु ५ दिन पुग्दा पनि रातदिन नभनी खटेका कमरेडहरुको योगदान प्रंसशनीय छ

उनले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा हार्दिक शुभकामना पनि व्यक्त गरे।

उनले पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई अध्ययनको नयाँ शैली अपनाउन पनि आग्रह गरे। ‘कमरेडहरु, हामी अध्ययनशील हुन जरुरी छ,’ उनले भने।

उनले थपे- हाम्रो आनीबानी, व्यवहार देखेर अरु पार्टीका नेताहरुले पनि त्यो सिकून्।’

‘प्राकृतिक र सामाजिक विविधतालाई ठीक ढंगले प्रयोग गर्न जानेनौँ भने हामीलाई नै अप्ठ्यारो पर्छ,’ उनले भने।

विद्वेष र घृणाबाट जोगिनुपर्ने र धार्मिक, वैचारिक वा अरु प्रकारका भिन्नताका आधारमा गरिने घृणाभावबाट बाहिरै रहनुपर्ने उनले बताए।

एमालेमाथि बाह्य तथा भित्री हमला भएकाले यी सबैबाट जोगाएर अझ मजबुत बनाएर, जनतासँग एकाकार गराएर सफलताका लागि अगाडि बढ्ने उनले बताए।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्