जनकपुरधाम– विवाह पञ्चमी महोत्सव सुरु हुन अब तीन दिन मात्र बाँकी छ। यसको लागि मन्दिरलाई झकिझकाउ बनाइएको छ। मन्दिरको प्राङ्गणमा टेन्टहरु लगाइएको छ भने मन्दिरमा झिलिमिली बत्ती जडान गरिएको छ।

विवाहपञ्चमी महोत्सव प्रत्येक वर्ष यहाँ भव्य रुपमा मनाउने गरिन्छ। त्रेतायुगमा मर्यादा पुरुषोतम भगवान् श्रीराम र आर्दशनारी सीताबीच भएको विवाहको स्मरणमा मंसीर शुक्ल पञ्चमी तिथीका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गर्ने गरिन्छ। त्यसकै तयारीमा अहिले जानकी मन्दिर रहेको छ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत १७ गते जनकपुरधाम नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिनेछ।

जानकी मन्दिर विवाहपञ्चमीको लागि विभिन्न समिति उपसमिति बनाएर तयारी गरिरहेको समय नगर दुर्गन्धित भएपछि विवाहपञ्चमी समेत प्रभावित हुने भएको छ।

प्रत्येक वर्ष रंगभूमी मैदानमा मनाइने धनुष यज्ञ यस वर्ष मन्दिरकै प्राङ्गणमा भएको छ। जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले रंगभूमी मैदान सफा नरहेकोले यस वर्ष मन्दिरकै प्राङ्गणमा धनुष यज्ञ मनाउने तयारी रहेको बताए। उनले भने, ‘रंगभूमी मैदानमा ठाउँ बढी रहेकोले हेर्नेहरुलाई कुनै समस्या भइरहेको थिएन तर मन्दिर प्राङ्गणमा ठाउँको अभाव रहेकोले समस्या हुन्छ।’

महन्थ दासले यस वर्ष १० लाखभन्दा बढी श्रद्धालुहरु विवाहपञ्चमीमा आउने अनुमान रहेको बताए। पछिल्लो दुई वर्षदेखि कोरोना महामारीको कारण विवाहपञ्चमी महोत्सव प्रभावित हुँदै आएको थियो। यस वर्ष भने कोरोनाको प्रभाव कम रहेकोले लाखौँको संख्यामा यहाँ श्रद्धालु आउने दासले बताए।

विवाहपञ्चमी महोत्सवमा नेपाल र भारतसहित अन्य देशका नागरिकहरु समेत आउने गरेका छन्। तर विवाहपञ्चमी महोत्सव सुरु हुनमा अब थोरै समय रहेपनि नगर सफा गरिएको छैन। जनकपुरधामको नगरको ठाउँठाउँ, चोकचोकमा फोहरको डंगुर रहेको छ।

जनकपुरधाम उपमहानगरपालिकाले फोहर नउठाएपछि केही स्थानमा स्थानीयहरुले जम्मा भएको फोहर जलाएका छन्।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले यतिबेला विश्वप्रसिद्ध विवाहपञ्चमी महामहोत्सवको तयारी तीव्र पारेपछि नगरभित्र जताततै फोहोरका थुप्रोहरु देख्दा मन नै खिन्न बनेको बताए।

विवाहपञ्चमीमा विभिन्न स्थानबाट श्रद्धालुहरु आउने गरेकोले फोहरले विवाहपञ्चमीमा नकारात्मक सन्देश जाने बताए। उनले यसका लागि उपमहानगरलाई गम्भीरतापूर्वक ध्यान दिन आग्रह समेत गरे।

उपमहानगरले नगरको फोहर व्यवस्थापनमा कुनै ध्यान नदिएको भन्दै वडाध्यक्षहरुले नगरप्रमुख लालकिशोर साहको घर अगाडि फोहर फ्याँकेका थिए भने कालोमोसो दल्ने चेतावनीसमेत दिएका थिए।

यद्यपि नगरप्रमुख साहले फोहर व्यवस्थापनमा ध्यान नदिएको वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए। नगरको फोहर नउठेपछि अहिले जकपुरधामका वडाध्यक्षहरु संघीय राजधनी काठमाडौँमा मेयरको राजीनामा माग्दै प्रदर्शन गर्न गएका छन्।

जनकपुरधामका स्थानीय अरुण मधेशीले विवाहपञ्चमीमा समेत फोहर नउठाउँदा यसले जनकपुरधामप्रति नकारात्मक असर पार्ने बताए। उनले स्थानीय सरकारको सरसफाइको जिम्मा रहेपनि सरकार आफ्नो दायित्व निर्वाह गर्न नसकेको बताए।

 

तस्बिरहरुः राजा झा/देश सञ्चार।