राप्रपाको एकता महाधिवेशन आजदेखि, अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको दावी

काठमाडौँ – दुई राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतापछि बनेको राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ। आज काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुने प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार बुधबार बिहान ११ः३० बजे महाधिवेशनको उद्घाटन हुनेछ।

तीनदिन चल्ने महाधिवेशनमा देशभरका ४ हजार बढी प्रतिनिधि सहभागी हुनेछन्। जसले राप्रपाको नयाँ नेतृत्वसहितको १४९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ।

राप्रपाको विधानअनुसार पार्टी नेतृत्वमा एकजना अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री व्यवस्था छ। निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन्।

प्रचार समिति संयोजक श्रेष्ठका अनुसार सात सहमहामन्त्री, सातैजना सहायक महामन्त्री, एकएकजना कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता निर्वाचित अध्यक्षले मनोनीत गर्नेछन्।

बुधबार उद्घाटन समारोहलगत्तै बन्दसत्र हुने उनले बताए। बन्दसत्रमा अध्यक्षत्रयमध्ये कमल थापाले राजनीतिक कार्यपत्र, पशुपतिशमशेर राणाले सामाजिक कार्यपत्र र प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको श्रेष्ठले जानकारी दिए।

महाधिवेशनले पार्टीको संशोधित विधानसमेत पारित गर्नेछ। पार्टी नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

वर्तमान तीन जना अध्यक्षमध्ये कमल थापा एक्लै अघि बढ्दा प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। पशुपति शमशेर राणाले आफू अध्यक्षको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन्।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्