सिएनएनका स्टार होस्ट क्रिस कुओमो निलम्बित

एन्ड्रयू (बायाँ) र क्रिस कुओमो सन् २०१८ मा एक चलचित्रको प्रिमियरको क्रममा एकसाथ । तस्बिर गेट्टी इमेज

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले आफ्ना ‘स्टार होस्ट’ क्रिस कुओमोलाई निलम्बन गरेको छ। न्यूयोर्कका पूर्वगर्भनर तथा आफ्ना दाइ एन्ड्रयू कुओमोमाथि लागेको यौन दुर्व्यवहारसम्बन्धी आरोपका सबन्धमा दाइलाई सहयोग गरेको देखिएपछि सिएनएनले क्रिसलाई अनिश्चितकालका लागि निलम्बन गरेको हो।

न्यूयोर्ककी महान्यायाधिवक्ता लतिशा जेम्सले पूर्वगभर्नर कुओमोमाथि लागेको यौन दुर्व्यवहारको आरोपसम्बन्धी थप कागजातहरु जारी गरेकी थिइन्। त्यसमा क्रिसले आफ्ना दाइको सहयोगका लागि भूमिका निर्वाह गरेको देखिएको छ, जसलाई पत्रकारिताको मान्यताविपरीत ठानिएको छ। लगत्तै सिएनएनले मंगलबार क्रिस कुओमोलाई अनिश्चितकालका लागि निलम्बन गरेको हो।

सोमबार जारी भएका कागजातअनुसार क्रिसले आफ्ना दाइको पक्षमा विस्तारित भूमिका निर्वाह गर्न दिन गभर्नरका कर्मचारीहरुलाई दबाब दिएका थिए।

क्रिसले गभर्नरकी तत्कालीन सचिव मलिसा डीसोसालाई म्यासेज पठाएर दाइको पक्षमा भूमिका निर्वाह गर्न दिन दबाब दिएको देखिएको हो।
क्रिस कुओमो सन् २०१३ मा सिएनएन आएका हुन्।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्