फेरि चल्यो यतीको चर्चा : देखिएको पाइला यतीकै हाे त?

आरोही मिग्मा जी शेर्पाले यती पाइला हुन सक्ने भनी सामाजिक पोस्ट गरेको तस्बिर ।

काठमाडौँ – नेपालसहितका एसियाली देशका लोककथाहरुमा पाइने तर वैज्ञानिक रुपमा प्रमाणित हुन नसकेको प्राणी ‘यती’ को चर्चा फेरि भएको छ।

यती हिमाली क्षेत्रको माथिल्लो क्षेत्रमा बस्ने विश्वास गरिन्छ।

आरोही मिग्मा शेर्पाले मंगलबार सामाजिक सञ्जालमा ‘यतीको पाइला’ भन्दै दुई तस्बिर पोस्ट गरेका छन्।

पोस्ट गरिएको तस्बिरमा दुईवटा पाइला जस्तो देखिन्छ, तर ती मानिसका जस्ता छैनन् बरु हिमाली भालुसँग मिल्ने खालको रहेको प्रतिक्रियाहरुमा उल्लेख छन्। तर मिग्माले भने भालुको पाइला जस्तो नरहेको बरु बुढापाकाहरुले भने अनुसार ती पाइला हिम मानवका रुपमा विश्वास गरिने ‘यती’ को हुन सक्ने उल्लेख गरेका छन्।

मिग्माका अनुसार नोभेम्बर २७ (मंसिर ११ गते) को बिहानमा दोलखाको रोल्वालिङ क्षेत्रको ना गाउँमा गाउँका प्रमुख लामाले तस्बिर खिचेका छन्। मिग्माले भने, ‘तस्बिर खिच्ने लामा हाम्रो गाउँको प्रमुख लामा हुनुहुन्छ। सम्मानित व्यक्तिले खिच्नु भएको हो र उहाँले भनेअनुसार यी पाइलाहरु यतीका हुन सक्छन्।’

दुईवटा पाइलाको तस्बिर ना गाउँको पवित्र गुफा उर्गेन द्रूकाङ नजिकै खिचिएको मिग्माले बताएका छन्।

मिग्माले मंगलबार पोस्ट गरेका तस्बिरमा देखिएको पाइला केहीले यतीकै रहेको विश्वास गरेका छन् भने अधिकांशले आशंका व्यक्त गरेका छन्। धेरैले विश्वास गरेका छैनन् र उनीहरुले यो पाइला मानव निर्मित वा हिमाली भालुको हुन सक्ने उल्लेख गरेका छन्।

हुन पनि अहिलेसम्म लोककथामा भनिए जस्तो यती वास्तवमा पहिचान भएको छैन। वैज्ञानिकहरुले पनि यती हुनसक्ने अनुमानका आधारमा अध्ययन गरेका थिए र त्यसले पनि यतीको अस्तित्व प्रमाणित गर्न सकेको छैन। बरु यतीको भनेर दाबी गरिएका तस्बिर वा अंग या अंगका अंशहरुको अध्ययन गर्दा हिमाली भालुका विभिन्न प्रजातिको रहेको वैज्ञानिक अध्ययनबाट देखिएको छ।

सन् २०१७ को नोभेम्बर अन्तिममा द रोयल सोसाइटी जर्नलमा प्रकाशित भएको अनुसन्धानात्मक लेख ‘इभोलुसनरी हिस्ट्री अफ एनिग्म्याटिक बियर्स इन द टिबेटेन प्ले–हिमालय रिजन एण्ड द आइडेन्टिटी अफ द यती’ मा यतीको भनेर दाबी गरिएका नमुनाहरु हिमाली भालुका विभिन्न प्रजातिको रहेको उल्लेख छ।

यसअघि सन् २०१३ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकको टोलीले यती हिमालमा पाइने खैरो भालुको एक उपप्रजाति हुनसक्ने निष्कर्ष निकालेकाे थियाे।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्