सुरु भयो राप्रपाको एकता महाधिवेशन

काठमाडौँ – दुई राप्रपाको एकतापछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।
स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशनको उद्घाटन गरिएको हो। पार्टीको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषण गरिसकेका छन्।

महाधिवेशनको उद्घाटन सत्रमा राप्रपाका नेताहरुसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झालगायतका नेताहरु सहभागी भएका छन्।

महाधिवेशनमा राप्रपाका पुराना नेता लोकेन्द्रबहादुर चन्दसमेत सहभागी भएका छन्। तीनदिनसम्म चल्ने महाधिवेशनमा देशभरका ४ हजार बढी प्रतिनिधि सहभागी भइरहेका छन्। महाधिवेशनले राप्रपाको नयाँ नेतृत्वसहितको १४९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाको विधानअनुसार पार्टी नेतृत्वमा एकजना अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री व्यवस्था छ। निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन्। त्यस्तै सात सहमहामन्त्री, सातैजना सहायक महामन्त्री, एकएकजना कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता निर्वाचित अध्यक्षले मनोनीत गर्नेछन्।

बुधबार उद्घाटन समारोहलगत्तै बन्दसत्र हुने संयोजक श्रेष्ठले बताए। बन्दसत्रमा अध्यक्षत्रयमध्ये कमल थापाले राजनीतिक कार्यपत्र, पशुपतिशमशेर राणाले सामाजिक कार्यपत्र र प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

तस्बिरहरु – न्युज कारखाना

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्