लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वानः तपाईंहरु लगानी गर्नुस्, सुरक्षाको ग्यारेन्टी सरकारले दिन्छ

फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

बुधबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश तथा विदेशका लगानी कर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

उनले नेपालमा लगानी गर्नेहरुको सम्पत्ती र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताए। प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकायहरु मिलेर काम गर्नुपर्ने बताए। उनले नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको बताए।

प्रधानमन्त्री देउवाले आर्थिक पुनर्उथानलाई तीव्रताका साथ अघि बढाउन, मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन र व्यवसायको लागत घटाउन सरकार प्रतिवद्ध रहेको बताए।

उनले भने, ‘सरकार तथा निजी क्षेत्रले गरेको कमी कमजोरीलाई उजागर गर्ने गुणात्मक वृद्धि आवश्यक हुन्छ, त्यसमा सरकारको एकल प्रयासले मात्रै सम्भव हुँदैन। निजी क्षेत्र र सबै सरोकारवालाहरुको संयुक्त प्रयासबाट मात्रै यो सम्भव छ। यस काममा हामीलाई विदेशी विकास साझेदारको सहयोग उत्तिकै जरुरी छ। अर्थतन्त्रमा कोभिड १९ को एकदमै गहिरो प्रभाव परेको छ। विगत दुई वर्षमा मुलुकले अर्थतन्त्रमा निकै ठूलो समस्या पर्‍यो। अब आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन सरकार प्रतिवद्ध छ। मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन, व्यवसायको लागत घटाउन, सरकार कुनै कसर बाँकी राख्दैन।

यसका लागि मुलुकमा बृहत रुपमा दोस्रो चरणको आर्थिक सुधार गर्न आवश्यक छ भन्ने मलाई लाग्दछ। छोटो समयमा मुलुकको मुहार फेर्ने गरी विकास गर्नुपर्छ, सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन। बरु आवश्यक नियमन र सहजीकरणको पक्षमा छ। त्यसैले देश तथा विदेशका लगानी कर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न म आग्रह गर्दछु। नेपालमा तपाईंहरुको लगानी र सम्पत्तीको सुरक्षा हुन्छ त्यसको ग्यारेन्टी सरकारले दिन्छ भन्ने कुरा पनि म विश्वास दिलाउन चाहन्छु।’

प्रधानमन्त्री देउवाले छोटो समयमा मुलुकको मुहार फेर्ने गरी विकास गर्नुपर्ने र सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि प्रष्ट पारे। उनले सरकार अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा रहेको पनि बताए।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्