कांग्रेस अधिवेशनः सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा पक्षकै पाँच जना प्रतिस्पर्धाको तयारीमा

धनगढी– नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पाँच जनाले दावेदारी पेश गरेका छन्। सभापतिका दावेदार पाँचै जना पार्टी सभापति शेरबहादुर देउवा पक्षीय हुन्।

प्रदेश अधिवेशन शुरु हुनुअघि औपचारिक र अनौपचारिक रुपमा उनीहरुले सभाापतिको दावी गरेका हुन्।

प्रदेश सभापति दावी गर्नेमा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’, कैलालीकै हिम बहादुर रावल, बझाङका अर्जुनजंग बहादुर सिंह, अछामका गोविन्द बहादुर शाह र नेविसंघका पूर्व उपाध्यक्ष एवं डोटीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित पुष्पकुमार शाही रहेका छन्।

दुई पटक कैलालीको पार्टी सभापति भैसककेका मनु आफूलाई प्रदेशको स्वभाविक दावेदार ठान्छन्। विचार र सिद्धान्तका बारेमा प्रशिक्षण संचालन गरेर प्रशिक्षित पार्टी पंक्ति तयार पार्ने लक्ष्य रहेको बताउने मनु आफ्नो जीत स्वभाविक भएको बताउँछन्।

सभापतिका अर्का दावेदार अर्जुन बहादुर सिंह नेपाली कांग्रेस बझाङको दुई पटक सभापति, राज्यमन्त्री र राजदूत भैसकेका छन्। एकताबद्ध कांग्रेस आफ्नो लक्ष्य रहेको बताउने सिंह अब हुने तिनै तहका निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने अभियान चलाउने बताउँछन्।

मतदातहरुको सल्लाहमा नै चुनाव लड्न लागेको बताउने सिंह सबैको सल्लाह अनुसार अघि बढ्ने बताउँछन्।

त्यस्तै सभापतकिा अर्का दावेदार गोविन्द बहादुर शाह अछामबाट दुई पटक सांसद भैसकेका छन्। सबैको सल्लाहमा सभापतिको उम्मेदवारी घोषणा गरेको बताउने शाह विचार र सिद्धान्तको छलफल शुरु गर्ने र पार्टीमा मुल्याङकनको परिपाटी शुरुआत गर्ने बताउँछन्। सञ्चार राज्यमन्त्री समेत भैसकेका शाह सुदूरपश्चिममा कांग्रेसलाई मजबुत बनाउने लक्ष्य रहेको बताउँछन्।

सभापतिका अर्का दावेदार पुष्ककुमार शाही नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष भैसकेका छन्। कैलाली बहुमुखी क्याम्पसको इकाई अध्यक्ष र स्ववियु सभापतिका उम्मेदवार भइसकको शाही सुदूरपश्चिममा सुदृढ कांग्रेस निर्माण गर्ने लक्ष्य रहेको बताउँछन्। क्षमता, स्वाभिमान र कृयाशिलताको मुल्याङ्कन गरेर क्षमता अनुसारको जिम्मेवारी दिने कामको शुरुआत गर्ने शाही बताउँछन्।

सभापतिका अर्का दावेदार कैलालीको निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल हुन्। नेपाल एयरलायन्सको संचालक समेत बनिसकेका रावल आफू सभापति बनेमा कांग्रेसका आम कार्यकर्तालाई उद्यमशिलतासँग जोड्ने बताउँछन्। कर्मभूमि समाजमार्फत पार्टीका कार्यकर्तालाई उद्यमशिलतासँग जोड्ने लक्ष्य रहेको बताउने विशाल बजार कम्पनीको अध्यक्षसमेत भैसकेका रावल सांगठनिक रुपमा सशक्त, कार्यकर्तालाई उद्यमशिलतासँग जोड्दै पार्टीलाई सक्रिय बनाउने बताउँछन्।

सुदूरपश्चिम प्रदेशमा आगामी १६, १७ र १८ गते कैलालीको धनगढीमा प्रथम प्रदेश अधिवेशन आयोजना हुँदैछ। प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारका अनुसार अधिवेशनमा प्रदेशका नौ जिल्लाका १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी साढे नौ सय प्रतिनिधि सहभागी हुँदैछन्।

प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ। मुल आयोजक समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिति विस्तार गरेको छ।

त्यस्तै, कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति तथा अन्य सात वटा उपसमिति समेत गठन गरिएको छ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्