विवाहपञ्चमीमा भारत सीमामा प्रदेश सरकारले स्वागतद्वार बनाउने

जनकपुरधाम – विवाहपञ्चमी महोत्सवलाई भव्यता दिन प्रदेश २ सरकारले सरोकारवालालाई निर्देशन दिएको छ।

विवाहपञ्चमी महोत्सव सुरु हुन दुई दिन मात्र बाँकी रहेको समय मुख्यमन्त्री लालबाबु राउतले सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।

प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले विवाहपञ्चमी महोत्सव प्रदेशको धरोहर रहेकाले यसलाई भव्य बनाउन बुधबार निर्देशन दिएका हुन्।

विवाहपञ्चमी महोत्सवमा लाखौँको संख्यामा श्रद्धालु आउने भएकाले यसलाई लक्ष्य गर्दै सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिँदै थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरिदिने प्रतिबद्धता जनाए।

विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फबाट मूल नाकामा प्रवेशद्वार निर्माण गर्नुका साथै खानेपानीको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्।

 

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्