एमालेको केन्द्रीय कमिटीमा प्रदेश २ का एक पदाधिकारीसहित ३० जनाले पाए स्थान

जनकपुरधाम – नेकपा एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रदेश २ का ३० जनाले स्थान पाएका छन्।

चितवनमा हालै सम्पन्न एमालेको महाधिवेशनबाट प्रदेश २ का एक पदाधिकारी र २९ जना केन्द्रीय सदस्यमा अटाउन सफल भएका छन्।

जनघनत्व अत्यधिक रहेको प्रदेश २ बाट एमालेमा एक जना पदाधिकारी मात्रै अटाएका छन् भने २९ जना केन्द्रीय कमिटीमा अटाउन सफल भएका हुन्।

प्रदेश २ ले केन्द्रीय कमिटीमा एक जना सचिव पदाधिकारीको रूपमा पाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली नजिकका मानिएका रघुवीर महासेठ सचिव पदमा निर्वाचित भएका छन्। उनी धनुषाबाट प्रतिनिधित्व गर्छन्।

त्यस्तै, रौतहटबाट प्रतिनिधित्व गर्ने प्रभु साहले केन्द्रीय सदस्यको पदबाट सन्तुष्ट भएका छन्। नेकपा माओवादीलाई छाडेर एमालेमा ओलीको साथ दिइरहेका साह पनि सचिव पदकै आकांक्षी थिए। तर, स्थायी कमिटीमा राख्ने आश्वासनपछि उनले केन्द्रीय सदस्यमै चित्त बुझाएका हुन्।

प्रदेश २ मा माओवादी केन्द्रलाई छाडेर एमालेमा लागेका ९ जनाले केन्द्रीय सदस्य पाएका छन्। पूर्वमाओवादीबाट प्रभु साह, ज्वालाकुमारी साह, रामचन्द्र मण्डल, उपेन्द्र साह, कुन्दनप्रसाद कुशवाहा, टेकबहादुर बलमपाकी, मोहम्मद समिर, रामपृत राम र प्रतीक्षा तिवारी केन्द्रीय सदस्य भएका छन्।

एमालेको केन्द्रीय कमिटीमा धनुषाबाट ७ जनाले स्थान बनाएका छन्। जुलीकुमारी महतो, रामचन्द्र मण्डल, हरिनारायण महतो, शिला यादव, सञ्जीव झा र प्रतीक्षा तिवारी केन्द्रीय सदस्य भएका हुन्।

रामचन्द्र मण्डल एमालेमै लागेका कारण प्रदेश २ को प्रदेशसभा सदस्य पदबाट हटाइएको थियो। केन्द्रीय सदस्यमा पर्साबाट ५ जना निर्वाचित भएका छन्। प्रभु हजरा, कल्पना कटुवाल, मोतीलाल दुगड, राजकुमारप्रसाद गुप्ता र अरविन्दकुमार सिंह केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।

सप्तरीबाट सुमन प्याकुरेल, सरिताकुमारी गिरी, राजकुमार लेखी र जगदीशप्रसाद कुशियैत केन्द्रीय सदस्य भएका छन्।
सिरहाबाट लीलानाथ श्रेष्ठ, गंगाप्रसाद यादव र रामपृत राम छन्।

सर्लाहीबाट रञ्जना सरकार, कमलादेवी महतो र रीतादेवी साह छन्। त्यस्तै, महोत्तरीबाट टेकबहादुर बलमपाकी, सरोजकुमार यादव र रेखाकुमारी झा छन्।
रौतहटबाट प्रभु साह, उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहा छन्।

एमालेमा प्रदेश २ को बारा जिल्लाबाट सबैभन्दा कम केन्द्रीय कमिटीमा स्थान पाएका छन्। बाराबाट ज्वालाकुमारी साह र मोहम्मद समीर छन्। दुबै जना माओवादी केन्द्रलाई छाडेर एमालेमा लागेका हुन्।

 

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्