कांग्रेस अधिवेशनः प्रदेश २ सभापतिमा देउवा पक्षकै चार जना आकांक्षी

जनकपुरधाम – नेपाली कांग्रेसको पहिलो पटक प्रदेश कमिटी गठन हुन लागेको छ। यसका लागि प्रदेश २ मा पार्टीका नेताले औपचारिक र अनौपचारिक रूपमा प्रदेश सभापतिमा आफ्नो आकांक्षा प्रकट गरेका छन्।

केही नेताले आफ्नो उम्मेदवारी औपचारिक रूपमै घोषणा गरेका छन् भने कोहीको औपचारिक रूपमा घोषणा हुन बाँकी छ।

कांग्रेसभित्र पहिलो पटक प्रदेशको नेतृत्वका लागि बिहीबारदेखि अधिवेशन सुरु हुँदै छ। देशमा संघीयता आएपछि विभिन्न निकाय प्रादेशिक संरचनामा गए पनि कांग्रेस भने अहिलेसम्म प्रादेशिक संरचनामा गएको छैन। तर, कांग्रेसको जारी अधिवेशनबाट कांग्रेससमेत प्रादेशिक संरचनामा जाने क्रममा छ।

कांग्रेसको विधानअनुसार लगातार दुई कार्यकाल जिल्ला सभापति रहेका व्यक्ति तेस्रोपटक सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएकाले प्रदेश २ मा सभापतिका उम्मेदवारको संख्या बढी हुने देखिएको छ।

प्रदेश २ मा कांग्रेसको नेतृत्व सम्हाल्न देउवा पक्षकै चार जना आकांक्षी देखिएका छन्। प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्णा यादव अकांक्षी देखिएका छन्।

प्रदेश सभापतिका लागि आकांक्षी देखिएका ४ वटै नेतासँग जिल्लाको सभापतिको रूपमा राम्रै अनुभव बटुलेका हुन्। यद्यपि, ४ जनामध्ये महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार राय र धनुषाका रामसरोज यादवले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

रौतहटका जिल्ला सभापति कृष्णा यादव, सप्तरीका जिल्ला सभापति दिनेश यादवसमेत प्रदेश सभापतिका लागि इच्छुक रहेको बताउँदै आएका छन्।

धनुषाका रामसरोजसँग जिल्लालाई हाँक्ने अनुभवका साथै संविधानसभामा धनुषाका जनताको प्रतिनिधित्व गर्ने अनुभव छ। यसका साथै उनी अहिले प्रदेश सरकारमा मन्त्री छन् भने प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता हुन्।

०२९ सालमा विद्यार्थीकालदेखि नै राजनीति सुरु गरेका यादवले धनुषामा १ सय ४३ वटा सक्रिय सदस्य रहेका बेला सचिव भएर काम गरेको बताए।
उनी ०४९ सालमा जिल्ला विकास समितिको सभापतिसमेत भएका थिए। उनले आफू पार्टीको सभापति भए प्रदेश २ मा कांग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै पार्टीको ८ कठ्ठा ९ धुर रहेको जग्गामा सुविधा सम्पन्न प्रदेश भवन बनाउने प्रतिबद्धता व्यक्त गरे।

महोत्तरी जिल्ला सभापति रहेका महेन्द्र राय ४ पटक नेपाली कांग्रेसलाई जिल्लामा हाँकिसकेका छन्। ०२९ सालमा बहुदलीय व्यवस्थाका लागि आन्दोलन गरिरहेका बेला उनले कांग्रेस नेता सरोज कोइरालाको हातबाट भारतको मधुवनीमा सदस्यता लिएका थिए।

०३५ सालमा उनी महोत्तरीको जिल्ला सदस्यमा चुनिएका थिए। ०५६ सालमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा चुनिएर उद्योग वाणिज्य तथा आपूर्ति सहायकमन्त्री बनेका थिए।

रौतहट जिल्लाका सभापति कृष्णा यादवसमेत प्रदेश २ को सभापतिका लागि तयारी गरिरहेका छन्। कृष्णासमेत नेपाली कांग्रेसका उपसभापति निधि नजिकका नेता हुन्। ०४२ सालबाट कांग्रेसमा लागेका कृष्णाले २–२ पटक कांग्रेसलाई रौतहट जिल्लामा हाँकिसकेका छन्। ०६४ सालमा नेता कृष्णा रौतहटबाट संविधानसभा सदस्यका लागि चुनिएका थिए।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्