‘खल्ती’का यी २७ वर्षीय सिइओ जो हरेक दिन कक्षा बंक गर्थे (भिडियो)

काठमाडौँ– विनय खड्का नुवाकोटको स्याउरे भूमे उच्च माध्यमिक विद्यालयमा पढ्थे। सोही विद्यालयमा शिक्षक थिए, उनका बुवा बद्री बहादुर खड्का।

बुवा शिक्षक भएकै विद्यालयमा पढ्दा निकै सचेत रहनु पर्थ्यो उनलाई। बुवाको आँखा छलेर चकचक गर्नुपर्थ्यो। उनको स्वभाव नै चकचके। उमेर पनि त्यस्तै।

उनी बुबालाई छलेर विद्यालयबाट भागेर साथीहरुसँग खोलामा पौडिन पुग्थे। त्यहाँ उनीहरु पौडिने, खेल्ने र विद्यालयको छुट्टी हुने ठीक केही समयअघि आइपुग्थे। उनको यो दैनिकी बनिसकेको थियो।

विनयले आफ्नो विगत सम्झिँदै भने, ‘म सानोमा चकचक गर्थेँ। ड्याडी पढाउने स्कुलमा पढ्थेँ। मैले करिब ६ महिनासम्म सेकेण्ड हाफ पढिनँ। बङ्क गरेँ। हाम्रो टोली हुन्थ्यो, फस्ट हापमा ड्याडीको क्लास हुन्थ्यो। त्यो सकिएपछि खोलातिर जाने नुहाउने खेल्ने गर्ने र छुट्टीको घण्टी लाग्ने बेला भएपछि रेडी भएर स्कुलमा बस्ने अनि ड्याडीसँगै घरतिर लाग्ने। ड्याडीलाई थाहा हुँदैन थियो।’

उनलाई शिक्षक बुबाले समात्न सकेनन्। समातुन् पनि कसरी? विनय त दोस्रो पिरियडपछि गायब हुन्थे साथीहरुसँग।

यसैबीच विनयका बुबाको छैठौँ पिरियड थपियो, उनको क्लासमा। बुबाले छैठौँ पिरियडमा पढाउन थालेको ३/४ दिन भइसकेको थियो। तर विनयलाई पत्तो थिएन। उनका बुबाले अग्रेजी, सामाजिक र गणित पढाउँथे।

हाँस्दै विनयले भने, ‘मलाई थाहा थिएन। त्यसपछि एक दिन बेलुका घर खाना खानेबेलामा ड्याडीले इङ्लिसको कलास कस्तो भइरहेको छ भनेर सोध्नुभयो। म पुरै कन्फिडेन्टका साथ राम्रो भइरा’छ भनेँ। उज्जव सरले पढाउनुहुन्छ भनेर दिइरेहेको थिएँ। ड्याडीले तँलाई मोरो ढाँट्छस्? भन्नुभयो।’

सानोमा उनी राम्रो विद्यार्थीमा कहिल्यै परेनन्। जसोतसो पास हुने। ‘म त्यति राम्रो विद्याथी पनि थिइनँ’, उनले सुनाए, ‘सेकेण्डरी लेबलमा कहिलेकाहीँ फेल हुने र कहिले त अपग्रेड गर्नुपर्ने स्थिति पनि थियो।’

विस्तारै उमेरसँगै कक्षा पनि उकालो लाग्दै गयो। पढाइ कठीन बन्दै गयो। पढाइको चाप बढ्दै गयो। अझ त्यसमा पनि द्वन्द्वकालको प्रभाव।

‘२०६० तिर द्वन्द्वकालको बेला थियो। नुवाकोटमा बस्न सुरक्षित छैन भनेर मम्मीले मलाई र बहिनीलाई काठमाडौँ ल्याउनु भयो। यस्तो बेला पढाइमा पनि असर गर्ने भएर हामी काठमाडौँ सिफ्ट भयौँ र बुबा उतै बस्नुभयो’, उनले भने।

काठमाडौँ आएपछि उनले पढाइका क्रममा धेरै विद्यालय परिर्वतन गरे। छोरो बिग्रियो भनेर विनयलाई आमाले होस्टेलमा राखिन्। जब उनी होस्टल गए अनि उनलाई लाग्यो, ‘होइन, अब पढ्नु पर्छ।’

कक्षा ८ को जिल्लास्तरीय बोर्ड। जसको चाप छुट्टै। विनयले आफ्नो बालापन सम्झिए, ‘कक्षा ८ मा पढ्दा जिल्लास्तरीय बोर्ड हुने, त्यसको डर छुट्टै। अर्को कुरा मलाई होस्टल पनि राख्नु पर्‍यो। होस्टलमा राख्नुपर्ने अवस्था आएपछि म धेरै बिग्रिसकेको भान भयो। डर पनि भयो भविष्यको। १३–१४ वर्षको उमेरमा विस्तारै बुझ्ने बेला भएको थियो।’

उनी पढाइमा मेहनत गर्न थाले। कक्षा ८ मा प्रथम श्रेणीमा पास भए। त्यसपछि उनले एसएलसी विशिष्ट श्रेणीमा काठमाडौँ इङ्लिस स्कुलबाट पास गरे भने प्सलस टु पनि विशिष्ठ श्रेणाीमा चावहिलको सेन्ट लरेन्स कलेजबाट पास गरे

त्यस्तै उनले जोशी एण्ड भण्डारी चार्टड अकाउण्टस (सीए) २०१७ मा नेपाल टप गरे।

कसरी बने टपर?


विनय भन्छन्, ‘पहिलो कुरा त मैले केही गर्नुपर्छ भन्ने आत्माबाटै आउनु पर्छ। यो कुरालाई म एकदमै मान्छु। जब मलाई गर्नुछ भन्ने फिल हुन्छ, जसरी पनि जुन कुरा पनि गरिन्छ।’

विनय प्लस टु पछि चाटर्ड अकाउन्ट (सीए) मा भर्ना भए। उनले सिए धेरै गाह्रो हुने सुनेका थिए। ‘सिए भनेको गाह्रो हुन्छ भन्ने थियो। जसका कारणले मैले शंकरदेव कलेजमा ब्याचलर पनि जोइन गरेँ। त्यहाँ म परीक्षा मात्र दिन जाने गर्थेँ’, विनय भन्छन्, ‘यदी सीए फेल भइयो भने अर्को अप्शन त छ भनेर जोइन गरेको।’

सीए पढ्दै गर्दा उनले धेरै मेहनत गरे। मेहनतको मतलब दिनरात पढ्ने होइन। ‘म १० बजेपछि पढ्ने मात्र होइन, केही काम गर्न सक्दिनँ। म स्मार्ट वेमा पढ्थेँ,’ विनय भन्छन्, ‘पढ्ने बेला पढ्थेँ। र अरु बेला मुभी हेर्ने, गेम खेल्ने, वेबसिरिज हेर्ने। तर म कुनै पनि लेबलमा अड्किनु परेन।’

उनी बिजनेस र सीएमा आफ्नो ब्याचका टपर भए। २३ वर्षको उमेरमा सीए सकेर विनयले काम गर्न सुरु गरे। उनले आफ्नो ‘करियर’ को सुरुवात बैंकिङ क्षेत्रबाट गरे। उनले एनआइसी एशिया बैंकमा डिजिटल मार्केटिङ प्रमुखका रुपमा साढे दुई वर्ष काम गरे। त्यसपछि ई–सेवामा गए। त्यहाँ पनि उनले केही समय काम गरे। ई–सेवाबाट पुनः विनय एनआइसी एशिया बैंकमा फर्के।

बैंकमा डिजिटल मार्केटिङ प्रमुखका रुपमा काम गरिरहेका २७ वर्षीय विनयको नाम अगाडि ‘सिइओ’ थपियो, यही मंसिर १ गतेदेखि। यतिबेला सिइओको कुर्सीमा बसेर खल्ती कम्पनीको जिम्मेवारी समालिरहेका छन्।

२७ वर्षकै उमेर सिइओ पदमा नियुक्त भएकोमा सामाजिक सञ्जालमा निकै चर्चा भयो। उनले यति छिट्टै सिइओ हुन्छु भनेर सोचेका थिएनन्।

उनले भने, ‘सिइओ भनेको माइन्डसेट भन्छु म। एक्सपिरियन्स, क्वालिफिकेशन आफ्नो ठाँउमा महत्वपूर्ण कुरा हो। पिरिएड अफ टाइम मानौँ– तपाईले पाँच वर्ष काम गर्नु भयो। त्यो अवधिमा तपाईले कसरी काम गर्नु भयो भन्ने कुरामा भर पर्छ। र जुन डोमनमा मैले काम गरेँ फिनटेक इन्ड्रस्टिज आफैमा नयाँ हो। खल्ती पाँचौँ वर्षमा छ। यो संस्था चलाउन चाहिने क्वालिटिजहरु, कति कुरा सिक्दै जानु पर्छ, र त्यो क्वालिटी छ र त्यो आत्मविश्वासले गर्न सकिन्छ भनेर नै सुरु गरेको हो।’

उनले अब पूरा कम्पनीको जिम्मेवारी हेर्नुपर्छ। यसअघि उनले फरक–फरक ‘डिपार्टमेन्ट’को जिम्मेवारी समालेका थिए। निश्चित शाखा हेर्नु र पूरा संस्थाको जिम्मेवारी हेर्नुमा भिन्नता भएको विनय बताउँछन्।

उनले भने, ‘मान्छेले आफ्नो करियरमा सर्भिसमा जाने या जब गर्ने भन्ने हुन्छ। म पनि क्वालिफाइ हुँदा के गर्ने भन्ने अपशनहरु थिए। सर्भिसमा गइसकेपछि आफूलाई उच्च तहमा जाने भन्ने नै हुन्छ। तर यति छिटो हुने हिसाब चाहिँ थिएन तर चाँडो चाहिँ चाँडो हुन्छु भन्ने थियो। तर यसमा मार्केट डाइनामिकले पनि रोल प्ले गरेको जस्तो लाग्छ। र नेपालमा फिनटेक इनड्रस्टीलाई ड्राइभ गरेर अगाडि लिएर जाने फिनटेक बुझेको त्यति धेरै हुनुहुन्न । त्यो भएर पनि मैले अवसर पाएको होकी जस्तो पनि लाग्छ।’

खल्ती कम्पनी छिट्टै छैठौँ वर्षमा प्रवेश गर्नेछ। छोटो अवधिमा पनि खल्तीले धेरैको मन जित्न सफल भएको छ। धेरैको मोबाइलमा खल्ती एप छ, र खल्ती हरेक बैंकसँग पनि जोडिएको छ।

खल्तीले भुक्तानी, होटल बुकिङ, ‘मुभी’ र आन्तरिक हवाइ टिकट काट्ने, बिजुलीको बिल भुक्तानी, फण्ड ट्रान्सफर लगायतका सेवा दिइरहेको छ। र खल्तीका ३० हजारभन्दा बढी एजेन्ट नेटर्वक छ।

अब विनयको काँधमा थप जिम्मेवारी थपिएको छ। उनले खल्तीलाई ‘फण्ड ट्रान्फर’को दायरामा नराखेर यसलाई ‘इनोभेशन हब’ बनाउन योजना रहेको बताए।

उनले आफ्नो आगामी योजनाबारे सुनाउँदै भने, ‘यो मेरो मात्र नभइ हाम्रो संस्थाको योजना हो। डिमाड र सप्लाइलाई हेरेर सजिलै सर्भिसहरु प्रोभाइड गर्ने भन्ने लाइनमा छौँ। सबै कुराको तयारी पनि भइसकेको छौँ। अब हामी रेडी टु टेकअपमा छौँ। यसलाई मल्टी ग्रोथमा लैजाने प्लानिङ छ।’

यसमा आफ्नो मात्र नभएर संस्थाका अग्रजहरु, कर्मचारी लगायतको सबै साथ रहेको उनले बताए। अहिले नेपालको डिजिटल बजार विस्तार भइरहेको छ। कोरोना भाइरसले गर्दा डिजिटल क्षेत्र सशक्त रुपमा अगाडि बढिरहेको छ।

अहिले धेरैको रोजाइमा डिजिटल क्षेत्र पर्ने गरेको छ। नेपाल राष्ट्र बैंकले पनि डिजिटल क्षेत्रलाई प्रोत्साहत गर्ने भनेको छ। विनयका अनुसार विस्तारै समाजमा परिवर्तन आइरहेको र त्यो परिवर्तनलाई ‘ फाइनान्स सेक्टर’ मा लैजान सकिन्छ।

‘मान्छेहरु विदेश जानु भएको छ। स्मार्ट फोन सबैको हात–हातमा छ। सबैले फेसबुक चलाउँछन् र कतिले सिक्दैछन्’, उनले भने, ‘यसले समाजमा परिवर्तन ल्याउँदैछ। यस परिवर्तनलाई फाइनान्सियल सेक्टरमा किन नल्याउने। र अहिले खल्तीले डाइरेक्ट फाइनान्स, क्यासब्याक, डिस्काउन्टलाई प्रमोट गरिरहेका छ। र इन्डाइरेक्ट भनेको टाइमको सेविङको कुरा हुन्छ। सेक्यूरेटीको कुरा हुन्छ। त्यो प्रयास हामीले गरिरहेका छौँ। र मार्केट अब रेडी नै छ जस्तो पनि लाग्छ।’

डिजिटल प्रविधिलाई दैनिक जीवनमा लागू गर्नसके धेरै फाइदा हुने विनयको बुझाइ छ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्