ओमिक्रोन : अमेरिकामा पनि भेटिए संक्रमित, अहिलेसम्म कुन कुन देशमा फैलियो?

विश्वभर जारी कोरोना भाइरस महामारीको सन्दर्भमा गम्भीर चासो र चिन्ताका रुपमा आएको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विभिन्न देशमा फैलिने क्रममा छ ।

पछिल्लोपटक अमेरिकामा पनि ओमिक्रोनबाट संक्रमित भएका व्यक्ति भेटिएका छन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार दक्षिण अफ्रिकाबाट अमेरिकाको क्यालिफोर्निया फर्किएका व्यक्तिमा ओमिक्रोनको संक्रमण देखिएको हो । ती व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप भने लगाएका थिए ।

बुधबार अमेरिकाको क्यालिफोर्नियामा तीव्र संक्रामक ठानिएको ओमिक्रोनका संक्रमित भेटिएपछि सतर्कताको तह उच्च पारिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकीहरुलाई खोपको पूर्ण मात्रा लगाउन र योग्य भएको अवस्थामा बूस्टर डोज पनि लगाउन भनेको छ ।

यस्तै बाइडेनले आउँदो मार्च मध्यसम्म नै यात्रुहरुले जहाज, रेल तथा बसमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियम लागु गर्दै छन् ।

राष्ट्रपति बाइडेनका शीर्ष स्वास्थ्य सल्लाहकार समेत रहेका डा. एन्थोनी फाउचीले ओमिक्रोनको संक्रमण पुष्टि हुनुले खोप नलगाएकाहरुले तत्काल लगाउनु बुद्धिमानी हुने देखिएको बताएका छन्। अमेरिकामा खोप लगाउन योग्य रहेर पनि ६ करोड मानिसले लगाएका छैनन् ।

ओमिक्रोन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नोभेम्बर २६ मा नयाँ भेरियन्टको नाम ओमिक्रोन राखेको हो । यस्तै गम्भीर चिन्ताको भेरियन्टका रुपमा पनि डब्लुएचओले ओमिक्रोनलाई परिभाषित गरेको छ ।

नोभेम्बर २४ मा ओमिक्रोन पहिलोपटक दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । प्रारम्भीक परीक्षणहरुले यो भेरियन्ट तीव्र गतिमा फैलिँदै गएको देखिएको छ । तर अरु भन्दा यो भेरियन्ट संक्रामक रहे नरहेको पुष्टि हुन भने थप अध्ययनको खाँचो छ र वैज्ञानिकहरुले त्यसमा काम गरिरहेका छन् ।

दक्षिण अफ्रिकासँगै बोत्स्वानामा पनि देखिएको ओमिक्रोन भेरियन्टबाट संक्रमित भएकाहरु अहिलेसम्म अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, बेलायत, क्यानडा, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, घाना, हङकङ, आयरल्याण्डसहितका देशमा भेटिएका छन् ।

यस्तै इजरायल, इटाली, जापान, नेदरल्याण्ड्स, नाइजेरिया, नर्वे, पोर्चुगल, रियुनियन, साउदी अरेबिया, दक्षिण कोरिया, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, युएई तथा अमेरिकामा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन् ।

ओमिक्रोन झण्डै ५० वटा म्युटेशनबाट विकास भएको हो। यति धेरै म्युटेशन यसअघिका भेरियन्टमा देखिएको थिएन।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्