गाउँमै लाखौंको सिंचाइ आयोजना, खेती गर्न आकाशेपानीको भर

दाङ – वर्षामा आकाशे पानीबाहेक सिंचाइको अन्य स्रोत नहुँदा राप्ती गाउँपालिका–५ सिंगे गाउँको करिब २० बिगाह जग्गामा खेती गर्न समस्या छ। यहाँ भूमिगत पानीमार्फत सिंचाइ गर्न आयोजना नपरेको पनि होइन। सिंचाइको लागि सरकारले डिप बोरिङको आयोजना पार्‍यो। लुम्बिनी प्रदेश सरकारमार्फत दुई आर्थिक वर्षमा करिब ५५ लाखको लागतमा डिप बोरिङसमेत गरिसकिएको छ। दुर्भाग्य, विद्युत नहुँदा डिप बोरिङ बेकाम भएको छ। विद्युत जडान हुन सकेको छैन। किसानले हिउँदे बालीमा सिंचाइ गर्न पाएका छैनन्।

स्थानीय विष्णु भण्डारीले सार्वजनिक डिप बोरिङ धस्नको लागि आफ्नो निजी जमिन दिए। नेपाल विद्युत प्राधिकरणले मिटर जडान नगरेकाले सिंचाइ हुन नपाएको भण्डारीले बताए। ‘सिंचाइ होला भनेर पोहरसाल मकै छरियो। पानी नपाएपछि खेती नष्ट भयो’, उनले गुनासो पोखे, ‘विद्युत जडान गर्दिन्छौं भनेको ९ महिना पुगिसक्यो। अहिलेसम्म जडान भएन।’

विद्युत जडान नहुँदा लाखौंको लगानीमा तयार भएको डिप ट्युबेल आयोजना अलपत्र छ। मोटरमा खिया लाग्न थालेको छ। बनेको भौतिक संरचना पनि प्रयोगविहीन बन्न पुगेको छ। सिंचाइको लागि विद्युत जडान गरिदिन धेरैपटक विद्युत प्राधिकरण धाउँदा पनि सुनुवाइ नभएको स्थानीय भगवता शर्माले गुनासो गरिन्।

‘हुन्न कहिल्यै भनिएन। तर हाम्रो डिप बोरिङमा विद्युत जडान भएन। किन भएन, यसको खास कारण के हो?’, उनले प्रश्न गरिन्, ‘सिंचाइ मिटरको लागि ४२ हजार बढी रुपैयाँ राजस्व बुझाउँदा पनि किन काम भएन? हाम्रो प्रश्न छ।’

सिंचाइ सुविधा पुग्ने आशामा गहुँ, तोरी, मकै र कागती खेती गरेका यहाँका किसान समस्यामा छन्। ‘पानी भएन भने के उब्जनी हुन्छ?, शर्माले प्रश्न गरिन्, ‘यस्तो समस्या किन नबुझेका होलान्?’ उनले सिंचाइ गर्न नपाउँदा उब्जनी घटेको सुनाइन्।

सिंगे डिप बोरिङ सिंचाइ आयोजना लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ बाट सुरु भएको थियो। २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रमसहित झण्डै ५५ लाख रुपैयाँ लागतमा डिप बोरिङ सम्पन्न गरिएको छ। पहिलो वर्ष बोरिङ धस्ने काम भयो। दोस्रो वर्ष पाइपलाइन विस्तार र अन्य संरचना तयार गरिएको हो। पहिलो चरणमा २० बिगाह जग्गामा सिंचाइ पुर्‍याउने योजना छ।

सुख्खा ठाउँ र नियमित सिंचाइ सुविधा नभएकाले २०७७ फागुनबाट डिप बोरिङको काम भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय लमहीमार्फत भएको थियो। एक सय २० घरधुरी लाभान्वित हुने गरी सिंचाइ आयोजना माग गरिएको थियो। आयोजना कार्यान्वयन गर्न सिंगे डिप ट्युबेल सिंचाइ उपभोक्ता समितिले अहम् भूमिका खेलेको तर विद्युत कार्यालयले मिटरबक्स जडान नगरिदिएको समितिका कोषाध्यक्ष कमला घिमिरेले बताइन। ‘हामीले गर्नुपर्ने सबै काम गरेका छौं। तर किसानलाई सुविधा अझै पुगेको छैन’, उनले भनिन्, ‘सिंचाइ सुविधा पुर्‍याउन अझै संघर्ष गर्छाैं।’

सिंचाइको लागि भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय लमहीले विद्युतीकरणसम्मको काम गर्छ। ट्रान्सफर्मरदेखि सिंचाइ मिटरबक्ससम्म चाहिने लगानी डिभिजन कार्यालयमार्फत हुने गर्छ। विद्युत प्राधिकरणको विद्युत जडान गर्ने जिम्मेवारी रहन्छ। तर यस्ता सिंचाइ आयोजनाको लागि विद्युत प्राधिकरण हत्तपत्त अघि सर्दैन। जसले गर्दा किसानलाई आयोजना सम्पन्न भए पनि विद्युत जडान गर्न निकै सकस पर्ने गरेको छ।

यो समस्या सिंगेका उपभोक्ताको मात्रै होइन। दाङमा कार्यान्वयन भएका १२ भूमिगत सिंचाइ आयोजना विद्युत जडान हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन्। पश्चिम दाङ, घोराही उपत्यका र देउखुरी उपत्यकाका किसानले विद्युत जडानको समस्या भोग्दै आएका छन्।
भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय लमहीका प्रमुख केशवराज रिजालले विद्युतको जडानको अधिकार आफ्नो कार्यालयसँग नरहेको बताए। ‘सिंचाइको लागि चाहिने सबै पूर्वाधार तयार पार्ने जिम्मेवारी हाम्रो छ। तर हामीसँग विद्युत जडान गर्ने अधिकार छैन’, उनले भने, ‘विद्युत प्राधिकरणले विद्युत जडान गरिदिनुपर्ने हुन्छ।’

सिंचाइ मिटर उपभोक्ता समितिको नाममा ल्याउनुपर्ने हुन्छ। जसका लागि डिभिजन कार्यालयले सिफारिससमेत गरेर पठाउने गरेको छ।
यता नेपाल विद्युत प्राधिकरण लमहीले सिंगे गाउँमा विद्युतीकरणअन्तर्गत अझै काम बाँकी रहेको र केही दिनमा विद्युत जडान गरिने बताएको छ। निमित्त कार्यालय प्रमुख नन्दलाल शर्माले ट्रान्सर्फमर चार्ज गर्नुपर्ने काम बाँकी रहेको र केही दिनभित्र डिप बोरिङमा विद्युत जडान गरिने जानकारी दिए।

‘हामी काममै छौं। अवको केही दिनमा विद्युत जडान हुन्छ’, उनले भने, ‘किसानलाई सुविधा पुर्‍याउन सिंचाइ मिटर दिइएको छ। यो मिटर जडान गर्छाैं।’

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्