चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाटेबाघ । तस्बिर : राजु गुरुङ

काठमाडौँ – बाघ पाइने प्रमुख तीन क्षेत्रमा गरिने गणनाको तयारी लगभग पूरा भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागको नेतृत्वमा हरेक चार वर्षमा गरिँदै आएको बाघ गणना यही मंसिर १९ गतेदेखि औपचारिक रुपमा सुरु हुँदैछ। त्यसको तयारी लगभग पूरा भएको र प्राविधिकसहितको टोली सम्बन्धित क्षेत्रमा सक्रिय भइसकेको विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले जानकारी दिए।

‘हामीले राष्ट्रिय बाघ गणना यसपटक चितवन–पर्सा कम्प्लेक्सबाट मंसिर १९ गतेदेखि सुरु गर्दैछौँ’, महानिर्देशक डा. कँडेलले भने, ‘विभागका इकोलोजिस्ट वेदकुमार ढकालको नेतृत्वमा टोली चितवन गएको छ।’

बाघ गणनाको औपचारिक उद्घाटन मंसिर १९ गते चितवनमा वनमन्त्री रामसहाय प्रसाद यादवले गर्नेछन्।

पहिलो चरणमा बाघको संख्या, त्यसपछि बाघको बासस्थान तथा आहार, प्रजातिको अवस्थाबारे अध्ययन गरेर गणनाको प्रतिवेदन आउँदो वर्षको जेठ–असारसम्म सार्वजनिक गर्ने लक्ष्य विभागको रहेको छ।

बाघ गणनाका लागि विभागका महानिर्देशकको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख, वन तथा भू–संरक्षण विभागका महानिर्देशक, नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयका प्रमुख, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव, विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि तथा जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि रहेको सल्लाहकार समिति बनाइएको छ।

त्यस्तै इकोलोजिस्ट वेदकुमार ढकालको संयोजकत्वमा केन्द्रीय प्राविधिक समिति बनाएर काम भइरहेको विभागले जनाएको छ।

कहाँ कसरी हुँदैछ बाघ गणना?

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पुरानो पदमपुर । बस्ती निकुञ्ज बाहिर सारेपछि हाल यो ठाउँ घाँसे मैदानका रुपमा विकास भएको छ । तस्बिर : टंक ढकाल/देश सञ्चार

बाघ पाइने क्षेत्रलाई तीन भागमा विभाजन गरेर गणनाको तयारी भएको छ। हिउँदको समयमा वन क्षेत्रमा झाडी कम हुने र बाघ देखिने सम्भावना अधिक हुने हुँदा यही समय पारेर गणनाको तयारी भएको हो।

चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणना हुने विभागले जनाएको छ। गणनाका लागि चिवतन–पर्सामा सातवटा, बाँके–बर्दियामा तीन र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा तीनवटा हात्ती प्रयोग हुनेछन्। कुल ७२ दिनमा गणना कार्य सक्ने तयारी छ। गणनामा कुल ३०० जना खटिने छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलसँगकाे कुराकानी:

बाघ पाइने तीन क्षेत्रमा एक हजार ९२४ वटा ग्रिड बनाइ ३ हजार ३२८ वटा क्यामेरा ट्रयाप प्रयोग गरिने छ। गणनाका लागि नेपाल सरकार, डब्लुडब्लुएफ नेपाल र जेडएसएल नेपालले आर्थिक तथा प्राविधिक एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषबाट प्राविधिक र व्यवस्थापकीय सहयोग उपलब्ध हुने विभागले जनाएको छ। बाघ गणनाको सबै काम पूरा गर्नका लागि झण्डै तीन करोड ७० लाख खर्च लाग्ने अनुमान विभागको छ।

‘टाइगर एण्ड प्रेय बेस मोनिटरिङ प्रोटोकल २०१७’ अनुसार क्यामेरा ट्रयापिङ र अकुपेन्सी सर्वे विधिबाट बाघ गणना हुने डब्लुडब्लुएफ नेपालका डा. कञ्चन थापाले जानकारी दिए। ‘गणनामा हामीले क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेञ्ज फाइन्डर, जीपीएस, रेकर्ड फर्मसहितका सामग्री प्रयोग हुनेछन्’, डा. थापाले भने।

चितवनबाट सुरु हुने गणना त्यसपछि बाँके–बर्दिया हुँदै शुक्लाफाँटा क्षेत्रसम्म पुग्नेछ। आउँदो मार्चसम्म गणनाको काम गर्ने र त्यसपछि जुन–जुलाई (सन् २०२२) सम्ममा पूर्ण प्रतिवेदन ल्याउने गरी काम गर्ने तयारी गरिएको बाघमा विद्यावारिधि गरेका डा. थापाले जानकारी दिए।

बाघ कति छन् र किन गरिन्छ गणना?

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मृगको हुल, बाघको आहारा प्रजातिमा पर्छ मृग । तस्बिर : बर्षा शाह/देश सञ्चार

विश्वभर पाटे बाघको संख्या निकै कम हुँदै गएको परिवेशमा सन् २०१० मा भएको विश्व बाघ सम्मेलनले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउने लक्ष्य निर्धारण गरेको थियो। सोहीअनुरुप नेपालले पनि बाघको संख्या सन् २०२२ सम्ममा २५० पुर्‍याउने लक्ष्य लिएको छ।

विश्वका १३ वटा देशमा पाटे बाघ पाइन्छ। नौमध्ये तीन प्रजाति लोप भइसकेका छन्। नेपालमा पाइने पाटे बाघ भारत, भूटान र बंगलादेशमा मात्रै पाइने गरेको विज्ञले बताएका छन्। विश्वमा ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो।

पछिल्लो पटक सन् २०१८ मा भएको गणनाअनुसार नेपालमा बाघको संख्या २३५ थियो। सो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ छन्। तर अहिले यो संख्या बढेको अनुमान छ। नेपालमा सन् १९९५–९६ मा वयस्क बाघको संख्या ९३–९७ वटा रहेको अनुमान गरिन्छ। त्यसपछि सन् २००९ मा विधिवत रुपमा भएको गणनामा १२१, सन् २०१३ मा १९८ र २०१८ मा २३५ वटा वयस्क बाघ पुगेको अनुमान गरिएको थियो।

‘क्यामेरा ट्रयापसहितका विधि प्रयोग गरेर गणना गरिने हुँदा क्यामरामा बाघ नआउने सम्भावनालाई स्वीकार गरेर गणनाको संख्या अनुमानित भन्ने गरिएको हो’, डा. थापाले भने।

गणनाले दुर्लभ एवम् लोपोन्मुख प्रजातिको बाघको संरक्षणको अवस्था थाहा हुने र त्यसले संरक्षण तथा व्यवस्थापन प्रभावकारी बनाउन सहयोग पुग्ने विभागका महानिर्देशक डा. कँडेलले बताए। यसपटक बाघ गणनालाई डडेलधुरासम्म लगिने बताउँदै उनले भने, ‘यसले बाघको विस्तारित आवास क्षेत्रबारे पनि थाहा पाउन सहयोग हुनेछ।’

पाटे बाघ इलाममा पनि क्यामेरामा ट्रयाप भएको थियो तर सो क्षेत्र बाघको बसोबास कम्प्लेक्सभन्दा बाहिर पर्ने भएकाले नसमेटिएको उनले जानकारी दिए।

‘गणनालाई हामीले राष्ट्रिय निकुञ्जमा मात्रै सीमित गरेका छैनौँ, आसपासका सामुदायिक वन क्षेत्रमा पनि उपयुक्त आहारा प्रजाति एवम् घाँसे मैदान रहेकाले ती क्षेत्रमा पनि अध्ययन हुनेछ’, उनले भने, ‘यसले बाघको वास्तविक अवस्था थाहा पाउन र संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्वको व्यवस्थापनका लागि के गर्न सकिन्छ भन्नेबारे थप स्पष्ट हुन सहयोग गर्नेछ।’ चितवन–पर्सा तथा बाँके–बर्दिया क्षेत्रमा बाघको संख्या बढ्ने उनको अनुमान छ।

तर डब्लुडब्लुएफका डा थापाले भने अनुमान रहे पनि गणनाको प्रतिवेदन नआएसम्म भन्न सक्ने अवस्था नहुने बताए। ‘तर यो गणनाले अवस्था थाहा हुन्छ र व्यवस्थापन एवम् संरक्षण गर्न आगामी रणनीतिका लागि सहयोग गर्छ।’

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्