पूर्व उपप्रधानमन्त्रीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी खेलाडी ‘बेपत्ता’ भएपछि चीनका टेनिस प्रतियोगितामा प्रतिबन्ध

महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएसन-डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ।

चीनका पूर्व उपप्रधानमन्त्री झाङ गावोलीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी पेङ सुआई त्यसयता सार्वजनिकरुपमा नदेखिएपछि डब्लूटीएसहित विश्वका चर्चित खेलाडीहरुले उनको जीवन रक्षा र घटनाको छानबिनको माग गर्दै आएका थिए।

तर सम्बद्ध निकाय आफ्ना मागप्रति उदासीन रहेको भन्दै प्रतिबन्ध लगाउनु परेको डब्लूटीएले जनाएको छ। ३५ वर्षीया पेङ तीन सातायता सार्वजनिक रुपमा देखिएकै छैनन्। उनी सम्पर्कबाहिर रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।

डब्लूटीए प्रमुख स्टिभ सिमोनले पेङ स्वतन्त र सुरक्षित रहेकोमा आशंका बढेको बताएका छन्। ‘ हाम्रा खेलाडीहरुले त्यहाँ(चीन)मा कसरी प्रतिस्पर्धा गर्न सक्छन् ?’, प्रतिबन्धको निर्णय सुनाउँदै स्टिभले भनेका छन्।

डब्लूटीएले कोरोना महामारीका कारण दुई वर्षयता चीनमा कुनै अन्तर्राष्ट्रय प्रतियोगिता आयोजना गरेको छैन। सन् २०१९ मा डब्लूटीएले चीनमा डब्लूटीए फाइनल्ससहित ९ वटा प्रतियोगिता आयोजना गरेको थियो।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्