प्रधानन्यायाधीश राणालाई लामो बिदामा बस्न सत्ता गठबन्धनको सुझाव

काठमाडौँ – सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बिदा बस्न सुझाव दिएका छन्।

पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरुको बिहीबार बिहान प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसेको बैठकमा उनीहरुले प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिने निष्कर्ष निकालेका हुन्।

गठबन्धनको बैठकपछि सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिने निष्कर्षमा शीर्ष नेताहरु पुगेको जानकारी दिए।

उनका अनुसार कोभिड संक्रमण भएर बिदामा बसेका कारण सर्वोच्चमा कायममुकायम तोक्न पनि उनलाई आग्रह गर्न शीर्ष नेताहरु सहमत भएका छन्।

‘प्रधानन्यायाधीशको बिदा लम्व्याउन आग्रह गर्ने र कायममुकामयबाटै अदालत चलाउन भन्ने विषयमा शीर्ष नेताहरु सहमति नजिक पुग्नुभएको छ’, मन्त्री कार्कीले भने, ‘यस विषयमा औपचारिक निर्णय भने भएको छैन।’

उनका अनुसार प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वाेच्चको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको हो।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि सोमबारदेखि अस्पताल भर्ना भएका छन्। सर्वाेच्चमा हाल वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम तोकिएको छ।

नेपाल बार एसोसियसनले सर्वोच्चको गतिरोध हटाउन प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन दलका नेताहरुलाई ज्ञापनपत्र बुझाइसकेको छ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्