विरामी प्रधानन्यायाधीश राणाले कार्यबाहक नदिँदा मुद्धा प्रभावित, बिहीबारको पेशी सूची अझै सार्वजनिक भएन

काठमाडौँ – सर्वोच्च अदालतमा बिहीबारका लागि मुद्धाको पेशी सूची अझै सार्वजनिक भएको छैन। सामान्यतया बिहान १० बजे पेशी सूची सार्वजनिक हुने र ११ बजेदेखि मुद्धाको सुनुवाइ सुरु हुन्छ।

तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कोरोना संक्रमण भएर अस्पतालमा रहेपछि मुद्धाको सुनुवाइ प्रभावित बनेको हो।

सर्वोच्च अदालतमा बुधबारदेखि गोलाप्रथाद्वारा पेशी राख्न थालिए पनि त्यसअघि नै प्रधानन्यायाधीश राणा कोरोना संक्रमित भएर कार्यालय आउन असमर्थ भएका थिए। उनले कार्यबाहकको जिम्मेवारी नदिएपछि पेशी सूची सार्वजनिक हुन नसकेको बुझिएको छ।

बिहीबार बिहान सत्ता गठबन्धनको बैठकले कार्यबाहक दिएर बिदामा बस्न प्रधानन्यायाधीश राणालाई सुझाव दिएको थियो।  नेपाल बार एसोसियसनका अध्यक्ष  चण्डेश्वर श्रेष्ठसहितका प्रतिनिधिले अहिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीसँग भेट गरिरहेका छन्।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्