शिवम् सिमन्टद्वारा पाँचसयभन्दा बढी निर्माणकर्मीसँग अन्तरक्रिया

काठमाडौँ – शिवम् सिमेन्ट लिमिटेडले पोखरासहित गण्डकी प्रदेशका विभिन्न १० स्थानका पाँचसय बढी निर्माणकर्मीहरुसँग निर्माणसम्बन्धी प्राविधिक अन्तरक्रिया गरेको छ।

अन्तरक्रियामा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरिएको हो।

स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङलगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढी निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। शिवम् सिमेन्टले हालसम्म विभिन्न चरणमा एकहजार ५०० बढी निर्माणकर्मीहरुसँग अन्तरक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरिसकेको छ।

अन्तरक्रियामा निर्माणकर्मीहरुलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो। शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माणकर्मीहरुसँग प्राविधिक अन्तरक्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ।

पहिलो चरणअन्तर्गत शिवम् सिमेन्टले भाद्र तथा असोज महिनामा काठमाडौँ, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरीलगायतका विभिन्न १६ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरुको जोखिम बीमा गराइसकेको कम्पनी प्रतिनिधिले बताएका छन्। शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवासमेत दिदै आएको छ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्