‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को सूचीकरणको लागि सम्झौता

काठमाडौँ – नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को क्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य रु १,००० कायम भएको कुल २२ लाख ७ हजार १०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन्।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि गएको साउन १० मा आह्वान गरी साउन ३१ मा बाँडफाँड गरेको थियो। सूचीकृत ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को दोस्रो बजारको कारोबार मंसिर १६ बाट नेप्सेमा सुरु हुनेछ। सात वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५ साल साउन ३० मा हुनेछ।

साथै नबिल बैंकको तर्फबाट उक्त डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्नेलगायतका रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौतासमेत गरिएको छ।

सन् १९८४ मा स्थापित बैंकले हाल १३५ शाखा, १८८ एटीएम र एकहजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आएको छ।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्