सिटिइभिटीका उपाध्यक्षलाई बर्खास्त गर्न डा. केसीको माग

फाइल तस्बिर

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै डा. केसीले अधिकारी मेडिकल माफियाका प्रतिनिधि तथा निजी कलेज सञ्चालक रहेको भन्दै उनलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका हुन्।

नर्सिङलगायत विषय पढाउने कलेजहरुबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरु अक्षरशः कार्यान्वयन गर्नुपर्ने डा. केसीले माग गरेका छन्।

अधिकारीले विश्वविद्यालय र स्कुल तहका कार्यक्रम एउटै संस्थाले चलाउन नसक्ने ऐनको प्रावधान मिचेर स्नातक तहका कार्यक्रम चलाउने कलेजहरूमा सिटिइभिटीका स्कुल तहका कार्यक्रममा विद्यार्थी भर्ना गराउने प्रयास गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,‘कानुनअनुसार सय बेडको अस्पताल नहुने नर्सिङ कलेजहरुको कार्यक्रम रोक्ने गरी सिटिइभीटीबाट निर्णय गराउन सिटिइभीटीका अध्यक्ष तथा शिक्षामन्त्रीले खेलेको भुमिका सकारात्मक छ। तर मेडिकल माफियाका प्रतिनिधि अधिकारीले अहिले विश्वविद्यालय र स्कुल तहका कार्यक्रम एउटै संस्थाले चलाउन नसक्ने ऐनको प्रावधान मिचेर स्नातक तहका कार्यक्रम चलाउने कलेजहरुमा सिटिइभीटीका स्कुल तहका कार्यक्रममा विद्यार्थी भर्ना गराउने प्रयास गर्दैछन्।’

यस्तै बीपी प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाएर छानविन सुरु गर्नुपर्ने, सार्वजनिक पदमा रहनेहरुको स्वार्थको द्वन्द्व रोक्नका लागि कानुन ल्याउने तथा विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गर्ने लगायत यस अगाडि छलफलमा गरिएका सबै प्रतिवद्धताहरु पूरा गरिनुपर्ने डा. केसीले माग गरेका छन्।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्