अहंकार, दम्भ र विलासिता त्याग्न कांग्रेस महामन्त्री खड्काको नेता–कार्यकर्तालाई आग्रह

सिमकोट– कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रत्येक नेता तथा कार्यकर्तालाई अहंकार, दम्भ र विलासिता त्याग्न आग्रह गरेका छन्।

उनले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पार्टीको कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा यो कुरा कुरा बताएका हुन्।

नेपाली जनतालाई कांग्रेसप्रतिको गुनासो भनेकै नेता तथा कार्यकर्तामा देखिएको अहंकार बुझेको महामन्त्री खड्काले बताए।

उनले त्यससँगै नेता तथा अगुवा कार्यकर्तामा देखिएको दम्भ र विलासिताले पार्टीमा विकृति निम्तिएको बताए। सबै कांग्रेस सुध्रेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ। नेताहरूको दिउँसो समाजवादको कुरा गर्ने तर रात परेपछि सुविधा सम्पन्न होटल खोजेर बस्ने बानीले जनतामा नकारात्मक छाप परेको उनले बताए।

सबै तहका नेताहरूको सोच, प्रवृति र व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको उनले बताए। कम्तीमा १५ लाख युवालाई आकर्षित गर्न सबैमा सुधार आवश्यक रहेको उनको भनाइ छ।

एक अर्को प्रसंगमा महामन्त्री खड्काले संस्थापनइतर समूहलाई लक्ष्य गर्दै लोकतन्त्रको सुन्दर पक्ष स्वस्थ प्रतिस्पर्धा भएको बताउँदै निर्वाचनमा हार व्यहोरे पनि खुसी मनले अगाडि बढ्न सक्नुपर्ने बताए। इतर समूहका केन्द्रीय सदस्य हृदयराम थानीलगायत नेता–कार्यकर्ता कार्यक्रममा उपस्थित नभएकोप्रति उनको त्यो संकेत थियो।

अधिवेशनको उद्घाटन कार्यक्रम संयोजक एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका थिए। प्रतिपक्ष दलका प्रदेशस्तरका नेतालाई नबोलाइएको कार्यक्रममा बोल्ने जिल्ला सभापतिले पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका थिए।

मंसिर १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्